देश/प्रदेश

दीपक–चक्रेको त्यो गुन्डाराज, सर्वाेच्चको फैसलापछि मनाङे भूमिगत

Banner

काठमाडौं, कात्तिक २४-

२०६० को दशकमा गुन्डागर्दीका ‘बादशाह’ मानिएका दीपक मनाङे (राजीव गुरुङ) र चक्रे मिलन दुवै यतिबेला चर्चामा छन्। यतिबेला उनीहरू गुन्डागर्दी वा कुनै आपराधिक कार्य गरेर चर्चामा आएका भने होइनन्। एकले अर्कालाई सिध्याउने गरी ‘ग्याङ फाइट’ गर्दा ६० को दशकमा लागेको मुद्दामा अहिले सर्वोच्च अदालतले मनाङेलाई सजाय तोकेपछि उनीहरू चर्चामा आएका हुन्।

राजनीतिमा लाग्दै गर्दा मनाङेले आफूलाई ‘गुन्डा मनाङे होइन, मन्त्री मनाङे’ भन्थे। गुन्डागर्दीमा सक्रिय हुँदाताका कुनै न पार्टीमा आबद्ध रहेका उनी २०७४ सालयता भने गण्डकी प्रदेश सरकार निर्माण र भत्काउने खेलमा मुख्य पात्रजस्तै देखिए। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस) तीनवटै पार्टीबाट उनी मन्त्री भए।

यो समाचार नागरिक दैनिकमा छ, यसरी मनाङेलाई राजनीतिक दलले काखी च्यापेर मन्त्री बनाएकोमा धेरैले मन पराएनन्। तीन महिना अघिसम्म पनि गण्डकी प्रदेशसभामा मनाङे सत्ता जोगाउने र भत्काउने महत्त्वपूर्ण पात्रका रूपमा देखा परेका थिए। त्यही क्रममा उनले आफूले सम्हालिरहेको मन्त्रालय ‘लिलामीमा’ राखेको भनेर चर्चा कमाए।

गत मंगलबार सर्वोच्च अदालतले सुनाएको फैसलापछि मनाङे भूमिगत भएका छन्। फैसलापछि सांसद पद मात्रै गुम्ने भएन, २० वर्षअघिको अपराधको सजाय भुक्तानका लागि उनी जेल पनि जानुपर्ने भएको छ। यतिबेला नजिकका केही व्यक्तिबाहेक अन्यलाई उनी कहाँ छन् भन्ने जानकारी छैन। तर उनले शुक्रबार विज्ञप्ति जारी गर्दै फैसलाको पूर्णपाठ आएपछि आँफै अदालतमा उपस्थित हुने जानकारी गराएका छन्।

सर्वोच्च अदालतको फैसलाले सांसद पद गुमे पनि उनले विज्ञप्ति जारी गर्दा गण्डकी प्रदेशसभा सदस्यको लेटरप्याड प्रयोग गरेका छन्। ‘विगत केही दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टीकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ मनाङेले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मेरो मुद्दामा कात्तिक २० गते फैसला भएको विषय मैले मेरा तर्फबाट बहसपैरवी गरिरहेका कानुन व्यवसायीमार्फत थाहा पाएको हुँ। सोपश्चात् मेरा कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो।’

फैसला आएको दिनदेखि ‘गुणस्तरहीन’ सञ्चारमाध्यमबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि आफूले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको जानकारी पनि मनाङेले गराएका छन्। ‘यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण भइरहेको पाएको छु। यसमा मेरो आपत्ति छ,’ उनले विज्ञप्तिमा लेखेका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन (हाल उच्च) अदालत पाटनबाट भएको फैसला सदर गरेसँगै उनी भूमिगत भएका हुन्। प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि भूमिगत भएका उनले आफू बसेको स्थानबारे जानकारी नगराईकन विज्ञप्ति जारी गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>