देश/प्रदेश

दुई पटक कारागारबाट भागेर भारत पुगेका विनायकलाई प्रहरीले गोली चलाएर समात्यो

Banner

विराटनगर, कात्तिक २३-

सुनसरी प्रहरीले कारागारबाट भागेका कैदीलाई गोली प्रहार गरी पक्राउ गरेको छ । दुई पटक कारागारबाट भागेका इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो ।

विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए । सो घटनापछि प्रहरीले विनायकलाई एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । यादवलाई जिल्ला अदालत सुनसरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष ८ महिना १४ दिन कैद फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि थुनामा रहेका विनायक २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर भागेका थिए । उनीसहित अन्य १२ जनासमेत कारागारबाट भागेका थिए । लगतै सप्तरीको गोबरगाडाबाट पक्राउ परेका उनलाई सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागि पठाइएको थियो । तर उनी २०७२ वैशाख १२ गतेको भूकम्पका बेला फेरि पनि कारागारबाट भागेर भारत गएका थिए ।

छठ पूजाका लागि विहीबार नेपाल आउँदै गर्दा उनलाई प्रहरीले पक्रेको हो । बिहीबार कोशी गाउँपालिका–८ स्थित पथरचट्टान भन्ने ठाउँबाट विनायक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिम्सिनाले बताए ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि ताकेर एक राउण्ड गोली चलाएको थियो । तर उनलाई लागेन । गोली चल्दा आत्तिएर लडेका यादवलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । सूचनाः अनलाइन खबर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>