देश/प्रदेश

तीनजनाको निम्तोमा ३० जना अजरबैजान जाँदै

Banner

काठमाडौं, कात्तिक २३-

अजरबैजानमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालबाट तीनजना सहभागी हुनुपर्नेमा ३० जना जाने भएका छन्। वन तथा वातावरण मन्त्रालयले कुनै पनि भूमिका नभएका दुई दर्जनभन्दा बढी कर्मचारी र असम्बन्धित व्यक्तिलाई विज्ञका रूपमा मनोनयन गरेर ३० जनालाई ‘युनाइटेड नेसन्स क्लाइमेट चेन्ज फ्रेमवर्क कन्भेन्सन’ (युएनएफसिसिसी) मा सहभागी गराउने भएको हो।

सम्मेलनमा भाग लिन जानेमा कर्मचारीसँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीका स्वकीय सचिव लेकविक्रम शाही र छोरा राजेन्द्र शाही पनि छन्। सम्मेलनमा मन्त्री, सचिव र महाशाखा प्रमुख एकजनाबाहेक अन्य कुनै कर्मचारीको काम नभएको मन्त्रालयका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार कुम्भ मेला भएकाले मन्त्रालयका कर्मचारी विभिन्न विकास साझेदार अन्तर्राष्ट्रिय संघसंस्थासँग सहयोग मागेर त्यहाँ जान लागेका हुन्।

यो समाचार नागरिक दैनिकमा छ, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले सम्मेलनमा केही कर्मचारी जान लागेको पुष्टि गरे। ‘सबै सम्बन्धित कर्मचारी नै जानुहुन्छ तर आयोजक संस्थाले तीनजनाको मात्रै खर्च बेहोर्नेछ’, उनले भने।

अन्यको खर्चबारे जिज्ञासा राख्दा उनले त्यस सम्बन्धमा आफूलाई जानकारी नभएको बताए। ‘अन्यका बारेमा मलाई जानकारी छैन, जान चाहने साथीले खर्चको व्यवस्थापन गर्नुभएको होला। यसअघिका सम्मेलनमा यसैगरी जाने गरेकाले अहिले त्यसको निरन्तरता मात्रै हो’, ढुंगानाले भने। विकास साझेदार संघसंस्थाहरूको प्रायोजनमा विदेश घुम्दा नेपाल सरकार र कर्मचारीको शिर कसरी उँचो रहन्छ भन्ने प्रश्नमा यो विषयमा आफूलाई जानकारी नभएको भन्दै उनी पन्छिए। मन्त्रालयका ती कर्मचारीका अनुसार विभिन्न विकास साझेदार संस्थालाई दबाबमा राखेर कर्मचारीहरू विदेश घुम्न जान लागेका हुन्।

कात्तिक २६ देखि मंसिर ७ सम्म अजरबैजानको बाकु सहरमा हुने उक्त सम्मेलनमा सहभागी हुने कर्मचारीको सूची तयार भइसकेको र केही गइसकेका छन्। मन्त्रालय स्रोतका अनुसार वन तथा वातावरणमन्त्री शाही, राज्यमन्त्री रूपा विकसहित ३० जना कर्मचारी मन्त्रालयबाट बाकु जाने भएका हुन्।

‘युएनएफसिसिसीका विभिन्न निकायमा भएका सदस्य तथा विज्ञबाहेक अन्य सहभागीको त्यहाँ कुनै काम हुँदैन’, मन्त्रालयका ती कर्मचारीको दाबी छ। विकास साझेदारसँग सहयोग मागेर सम्मेलनमा जाने परम्परा गलत रहेको ती कर्मचारीको भनाइ छ। ‘सहयोग माग्नु भनेको उनीहरूको अनुकूल काम गरिदिन्छौं भन्ने हो। यसरी सहयोग लिएर गएपछि ती साझेदार संस्थाका प्रतिनिधिले मन्त्रालयका कर्मचारीलाई हेप्ने गरेका छन्’, ती कर्मचारीले भने।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धु ढुंगाना भने अजरवैजान पुगिसकेको ती कर्मचारीले बताए।

मन्त्रालयका तर्फबाट जान लागेका मध्ये सिन्धु युएनएफसिसिसीको फोकल पर्सन पनि हुन्। त्यसैगरी मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेल अतिकम विकसित देशहरूको समूह (एलडिसी)का सदस्य छन्। महेश्वर ढकाल हानि–नोक्सानी (लस एन्ड ड्यामेज)मा छन्। मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रका नवराज पुडासैनीले कार्बन व्यापारको विषयमा काम गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>