समाचार

अटो चलाएर त्रिसट्ठी वर्षीय तुलादत्त परिवारको खर्च धान्दै

Banner

कञ्चनपुर, कात्तिक २१-

शुक्लाफाँटा नगरपालिका–१० का तुलादत्त जोशीलाई ६३ वर्ष नाघ्नै आँटेको छ । युवा जस्तै जोस र जाँगरका साथ उहाँ अटो चलाउन व्यस्त हुनुहुन्छ ।

पाँच वर्षदेखि उहाँले अटो चलाउँदै आउनुभएको छ । दैनिक उहाँको कमाई रु एक हजारदेखि दुई हजारको हाराहारीमा हुने गरेको छ । महिनामा रु २० हजार देखि रु ३० हजार सम्मको कमाई उहाँको रहेको छ । “यात्रु बढी पाइएका दिन धेरै कमाई हुन्छ” उहाँ भन्नुहुन्छ, “कम भएको दिन थोरै हुन्छ, दिनमै यति कमाई हुन्छ भन्न सकिँदैन ।” अटोको कमाईले घर खर्च सहज रुपमा चल्दै आएकामा उहाँ सन्तुष्टि व्यक्त गर्नुहुन्छ । नगरपालिकाको झलारी बजारदेखि कालापानी रुटमा उहाँले अटो चलाउने गर्नुहुन्छ । त्यो रुटमा अटोमा चढ्ने प्रतियात्रुले भाँडाबापत रु ८० तिर्ने गर्दछन् । बिहानीको झिसमिसेमै जोशी अटो लिएर झलारी बजारमा यात्रुको प्रतीक्षामा तम्तयार भएर बसेका हुन्छन् ।

“यात्रु नबोके गुजारा चल्दैन”, उहाँले भन्नुभयो, “बिहान कार्यालय जाने, आवश्यक कामका लागि अन्त्य जाने यात्रुहरु प्रतीक्षामा हुन्छन्, घरबाट आउन ढिलो भए फोन गरेर बोलाई हाल्छन् ।” यात्रु नै भगवान् भएकाले नाइनास्ती गर्न नसकिने उहाँ बताउनुहुन्छ । “यात्रु बोक्दाबोक्दै दिन बितेको पत्तो नै हुँदैन, कुनै दिन खानका लागि घर जान पनि पाइँदैन, यात्रु नभएका बेला भने दिउँसोपख समय मिलाएर घरमै गएर खाना खाने गर्दै आएको छु”, उहाँले भन्नुभयो ।

“विसं २०५४ मा पहाडबाट तराई झर्दा कमाईको साधन नहुँदा रोजगारीका लागि भारततर्फ लाग्नुप¥यो”, विगत सम्झँदै जोशी भन्नुहुन्छ, “भारतमा केही वर्ष काम गरेर कमाई गरेको पैसाले कैलालीको फूलबारीमा १० कट्ठा जग्गा जोडे, आफन्तहरु सबै यतै भएकाले फूलबारीको जग्गा बेचेर झलारी बजार नजिकै साढे चार कट्ठा जग्गा जोडे, त्यसमै घर बनाएर बस्न थाले ।”

“घरघडेरी जोडे पनि कमाई गर्नका लागि केही त चाहियो नै”, उहाँले अगाडि भन्नुभयो, “जग्गा बैङ्कमा राखेर १२ लाख कर्जा निकाले, त्यो कर्जाको रकमले अटो रिक्सा किने, बचेको पैसाले करेसाबारी बनाउन साढे तीन कट्ठा जग्गा किने ।” बैङ्कबाट कर्जा निकालेको रु १२ लाखमध्ये रु छ लाख रकम अटोको कमाईले तिर्न भ्याएको उहाँ बताउनुहुन्छ । अटोको कमाईले बैङ्कको कर्जाको बाँकी किस्ता बापतको रकम तिर्दै आउनुभएको छ ।

छोराले भारतको बैङ्गलोरमा काम गर्ने भएकाले उताबाट पनि रकम पठाउने गरेको उहाँको भनाइ छ । अटोको कमाई र छोराको कमाईले घर खर्चसँगै बैङ्कको किस्ता तिर्न कुनै अप्ठेरो नरहेकामा उहाँ ढुक्क हुनुहुन्छ । “बूढेसकाल लाग्यो अब केही गर्न सकिँदैन भनेर घरमा बसेको भए घर खर्च चलाउनै धौ धौ हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “युवा जस्तै काम गर्दै आएको छु, स्वास्थ्यमा पनि समस्या छैन, आपत्विपत् परेका कसैसँग हात थाप्नु परेको छैन, सहज रुपमा दैनिकी चलेको छ ।” आत्मनिर्भर भएर काम गर्न पाउँदाको खुसी उहाँ व्यक्त गर्नुहुन्छ । सिटभन्दा बढी यात्रु नबोक्ने र थोरै गतिमा अटो चलाउने भएकाले जोशीकै अटो रोजाइमा पर्ने गरेको यात्रु भरतबहादुर ऐरले बताउनुभयो । उहाँले अटोचालक जोशी कर्तव्यनिष्ठ व्यक्ति रहेको बताउनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>