अपराध
‘टाइगर’ले पायो उत्कृष्ट कुकुर सम्मान
काठमाडौं, कात्तिक १५-
कुकर तिहारका दिन घरपालुवा मात्र होइन, सामुदायिक कुकुरलाई पनि फूलमाला लगाइदिएर मिठो खान दिने परम्परा छ । अपराध अनुसन्धानमा प्रहरीलाई सफलता दिलाउने कुकुरलाई पनि प्रहरीले उत्कृष्ट भोजन गराउने नै भयो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७, खनियाबासकी ७२ वर्षीया रत्नकुमारी थापाको हत्यामा संलग्नलाई पक्राउ गर्न विशेष भूमिका खेलेको साढे दुई वर्षको जर्मन सेफर्ड कुकुर ‘टाइगर’ ले यो वर्षको सर्वोत्कृष्ट कुकुरको सम्मानै पाउने भएको छ ।
यो समाचार गोरखापत्र दैनिकमा छ, २०८० पुस १७ गते शिवपुरी गाउँपालिका–९, बखतीटोल बस्ने ७५ वर्षीय नेत्रकुमारीको हत्या अनुसन्धानमा पनि टाइगरले दिएको प्रमाणका आधारमा प्रहरी अपराधी पक्राउ गर्न सफल भयो ।
कुकुर ह्यान्डलर वरिष्ठ प्रहरी हवलदार भीम गौतमले एक वर्षको बिचमा टाइगरले गम्भीर अपराधका दुई जना अभियुक्तलाई पक्राउ गर्न सफल भएपछि सर्वोत्कृष्ट सम्मान पाएको बताए ।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यले २०२६ सालदेखि नै अपराध अनुसन्धानमा कुकुर प्रयोग गरिँदै आएको छ । नेपाल प्रहरीका १२ निकायमा रहेका एक सयभन्दा धेरै कुकुरले अपराध अनुसन्धानमा सहयोग पु¥याउँदै आएका छन् । हरेक वर्षको कुकुर तिहारको दिन नेपाल प्रहरीको केनाइन महाशाखाले अपराध अनुसन्धानमा खटिएकामध्ये उत्कृष्ट कुकुरलाई विशेष कार्यक्रम गर्दै सम्मान गर्ने गरेको छ ।
कुकुरलाई कसरी अपराध अनुसन्धान तथा खोजीकार्यमा प्रयोग गर्न सकिन्छ भनेर पाँच जना प्रहरीलाई तालिमका लागि मलेसिया पठाइएको थियो । तालिमसँगै चार वटा कुकुर ल्याएर अनुसन्धानमा खटाइएको थियो । त्यसयता नेपाल प्रहरीले गम्भीर किमिसका अपराध अनुसन्धानमा कुकुर प्रयोग गरेर सफलता हात पारिरहेको दाबी गर्दै आएको छ ।
नेपाल प्रहरीसँग अपराध अनुसन्धानका लागि प्रयोग हुने छ प्रजातिका एक सयभन्दा बढी कुकुर रहेको नेपाल प्रहरीको केनाइन महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामचन्द्र सत्यालले जानकारी दिए । उनका अनुसार कुकुरलाई न्यूनतम चार महिनादेखि एक वर्षसम्म तालिम दिने गरिन्छ । कुकुरले निश्चित समय पूरा गरेपछि निवृत्त जीवनसमेत बिताउने गर्छ । पाँचदेखि १० वर्षसम्म कुकुरले प्रहरीलाई सहयोग गर्ने गरेको सत्यालले उल्लेख गरे । स्वास्थ्य अवस्था, नश्ल र उमेरका आधारमा कुकुर निवृत्त हुने उनले बताए ।