अर्थ
बाढीका कारण ११ सय मेगावाट विद्युत उत्पादन रोकियो

काठमाडौं असोज १३-
बाढीका कारण ११ सय मेगावाट विद्युत उत्पादन रोकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार उर्जा क्षेत्रमा बाढी र पहिरोका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति समेत भएको छ । ऊर्जामन्त्री दीपक खड्काले सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आकलन गरे ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले तामाकोसी जलविद्युत् आयोजना बन्द भएको छ । पछिल्लो तीन दिनयता बन्द रहेको तामाकोसी लामो समय बन्द गर्नुपरे लोड व्यवस्थापनमै समस्या हुने देखिएको उनले बताए । १६ जलविद्युत आयोजनमा क्षती भएको छ ।
उनका अनुसार काबेली करिडोरमा दुई टावरमा क्षति भएको छ । इलाम र पाँचथर फिदिममा बिजुली सेवा अवरुद्ध छ । त्यहाँ सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।
उता, तामाकोसी नदीले खिम्ती लामोसाँघु टावर बगाएका कारण २ सय मेगावाट ऊर्जामा समेत अवरोध भएको छ । त्यहाँबाट बिजुली काठमाडौं ल्याउने गरिएको छ । तामाकोसीले थप ८ सय मेगावाट बिजुली प्रसारण गर्ने टावर जोखिममा रहेको समेत ऊर्जा मन्त्रालयले जनाएको छ । १ हजार १० मेगावाट विद्युत् जडित क्षमताका १५ निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको छ ।
























