चितवन विशेष
मुस्ताङका १०३ च्यांग्रा चोरी गरी चितवन ल्याई बिक्री गरेको आरोपमा एक जना पक्राउ

चितवन, असोज ९-
मुस्ताङका १०३ च्यांग्रा चोरेर चितवन ल्याई बिक्रि गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ का ५० वर्षीय मोहम्मद फकिरसहित तीन जनाले मुस्ताङबाट ल्याएका च्यांग्रालाई साहु सुतेको समयमा अर्को गाडीमा हालेर चितवन ल्याई बिक्रि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बाँकी अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ७ मा बसोबास गर्दै आएका फकिर असोज १ गते साथीसहित मुस्ताङ पुगेका थिए । फकिर मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ का ताक्ला गुरुङको गोठमा पुगेर च्यांग्रा खरिद गर्न आएको भनेर कुरा सुरु गरे ।
मोलमोलाइपछि ४२ लाख रुपैयाँमा १०३ वटा च्यांग्रा खरिद गर्ने सहमति पनि हुन्छ । तर, फकिर र उनका साथीहरूसँग पैसा हुँदैन । उनीहरूले च्यांग्राधनी गुरुङलाई पोखरा पुगेपछि रकम दिने बताउँछन् । मुस्ताङबाट आउने च्यांग्राहरू पोखरा–२५ बाट प्रायजसो पैदल नै हिँडाएर ल्याउने गरिन्छ । पोखरा पुगेर रकम लिने भएपछि गुरुङ पनि सहमत हुन्छन् र ट्रकमा ल्याइएका च्यांग्रासहित पोखरा आउँछन् । पोखरा आएका उनी ड्यामसाइडमा रात बिताउँछन् । भोलिपल्ट उनले रकम पाउनुपर्ने हो । तर च्यांग्राहरू रातारात हराउँछन् ।
उनी सुतेको बेलामा रकम दिने भनेकाहरू नै च्यांग्रालाई अर्को गाडीमा हालेर रातारात चितवन ल्याउँछन् । भोलिपल्ट गुरुङले च्यांग्रा हराएको जाहेरी दिएपछि नै खोजतलासको क्रममा चितवन पुर्याइएको खुलासा हुन्छ ।
१०३ वटा च्यांग्रा हराए पनि प्रहरीले खोजतलासको क्रममा जम्मा ५० वटा मात्र फेला पारेर गुरुङलाई बुझाउँछ । बाँकी च्यांग्राहरू विक्रीवितरण भइसकेको कास्की प्रहरी प्रवक्ता वसन्त शर्माले जानकारी दिए ।
सोही चोरी प्रकरणमा पक्राउ परेका फकिरलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा ६ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।


























