राजनीति
समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछः मन्त्री पाण्डे

काठमाडौँ, असोज ७-
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले साहित्यमार्फत समाजलाई विशिष्ट रुपमा देखाउन सकिने बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले समाजको वास्तविकतालाई देखाउने भएकैले साहित्यकार अभौतिक सम्पदाका रुपमा स्थापित भएको बताउनुभयो ।
“साहित्यले अप्ठ्याराकाबीच आशाका सञ्चार गर्छ, समाजमा पुनःजागरण र जागृतिको आवश्यकता रहेकाले यसमा साहित्यकारले योगदान गर्न सक्छन्, बिपी कोइरालाले आत्मवृत्तान्तमा धेरै व्यावहारिक मान्छे भावुक जति पवित्र हुँदैन भन्नुभएको छ, साहित्यकारले भावुकतासँगै पवित्रताको प्रतिनिधित्व गर्छन्”, मन्त्री पाण्डेले भन्नुभयो ।
प्रतिष्ठानको कविता महोत्सवले समावेशी नेपालको प्रतिनिधित्व गर्ने गरेकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो । भाषा, संस्कृति, वेशभूषाका दृष्टिले नेपाल विविधतापूर्ण रहेकाले ती सबैको प्रतिनिधित्व गर्दै प्रतिष्ठानले काम गर्नुपर्ने संरक्षकसमेत रहनुभएका मन्त्री पाण्डेको भनाइ थियो । साहित्यकार निष्ठा र सदाचारको बाटोमा लागेर समाजलाई पनि त्यतै अघि बढाउनुपर्ने उहाँको विचार थियो ।
प्रतिष्ठानका कुलपति भूपाल राईले लोकतान्त्रिक शासन व्यवस्थामा समावेशी र सहभागिताको आवश्यकता पर्ने भएकाले त्यसै आधारमा काम गर्ने गरिएको बताउनुभयो । भाषा, साहित्य र संस्कृतिको संरक्षणमा प्रतिष्ठानले काम गरिरहेको उहाँले सो अवसरमा जानकारी गराउनुभयो ।
























