राजनीति
उपमहासचिव मेटमणिले कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतकै हो भन्दा झलनाथ खनालले गरे कारबाहीको माग

काठमाडौं, असोज १-
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।
एक टेलिभिजन अन्तर्वार्ताको क्रममा चौधरीले कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता भूभागहरु भारतकै हुन् भनेर देशद्रोही अभिव्यक्ति दिएको भन्दै खनालले उनलाई कारबाहीको माग गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो कस्तो विचित्रको अभिव्यक्ति हो रु यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक रु यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो ।’
खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणिलाई कारबाही माग गर्दै सार्वजनिक गरेको विज्ञप्तिमा उनको नाम भने उल्लेख गरेका छैनन् । खनालले ‘हाम्रो पार्टीका एक जना उपमहासचिव’ लेखेर विज्ञप्ति निकालेका छन् ।
उपमहासचिवलाई पनि इन्भर्टेड कमाभित्र राखेर जारी गरिएको विज्ञप्तिमा खनालले लेखेका छन्, ‘उक्त ‘‘उपमहासचिव’’को उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ ।’
























