राजनीति
भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा माओवादीले रेकर्ड कायम गर्योः प्रचण्ड

कर्णाली,भदौ १४-
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा अहिलेसम्मकै रेकर्ड कायम गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको संयोजनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि सुरु भएको ‘कर्णालीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुसँगको परामर्श बैठक’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी सङ्ख्याले सानो भए पनि यसको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन अभियानमा रेकर्ड कायम गरेको जिकिर गरे । यति ठूलो अभियान चलाएको देखेर विरोधी शक्तिहरुमा छटपटी पैदा भएको उनले बताए ।
“यसबाट नेपाली जनतामा आशा र उत्साह पैदा हुँदै गर्दा दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषमा भने आतङ्क सिर्जना भयो”, उनले भने, “त्यसपछि नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ भए लगत्तै कांग्रेस र एमालेको एकथरी नेतृत्व छटपटिन थाल्यो । त्यसकै परिणाम स्वरुप दुई ठूला राजनीतिक शक्तिबीचको रातारात सहमतिबाट सरकार निर्माण भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले माओवादी सरकारबाट बाहिरिँदा जितेजस्तो र कांग्रेस–एमालेले हारेर नेतृत्व लिएजस्तो बनेको टिप्पणी गर्दै भने, “यो पार्टी र आन्दोलनका लागि ठूलो पूँजी हो । अब भने उनीहरू हामीलाई कमजोर बनाउने नाममा बलिदानपूर्ण सङ्घर्षमार्फत स्थापित गरेका एजेण्डासहितको संविधानमाथि प्रहार गर्न चाहन्छन् । हामीले अगाडि बढाएको भ्रष्टाचार विरुद्धको अभियानलाई निस्तेज कोसिस गर्दैछन् । ती सबै षड्यन्त्रका विरुद्ध जनतालाई सचेत बनाउन सुसङ्गठित पार्टी निर्माण गरेर अगाडि बढौँ ।”

























