राजनीति
यो वर्षको दसैँलाई दुर्घटनारहित बनाऔँः गृहमन्त्री लेखक

काठमाडौ,भदौ १२-
गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरूलाई चाड पर्वलक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालासँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले भने, ‘कामको परिभाषा परिवर्तन भएको छ । काम परिणाममा हुने हो । काम हामी सबैले गरिरहेका छौँ । तर, लक्षित परिणाम हासिल भएन । यो चिन्ताको विषय हो । दुर्घटना न्यूनीकरण कसरी गर्ने हो ? दिनमा सात जनाको मृत्यु हुन्छ । दैनिक थुप्रै मानिसहरू घाइते हुनुभएको छ । यसका पछाडि कहीँ न कहीँ कमजोरी भएको छ ।’
यातायात व्यावसायीलाई दक्ष सवारी चालक राख्न आग्रह गर्दै उनले ट्राफिक प्रहरीलाई जिम्मेवारीपूर्कक काम गर्ने निर्देशन दिए । ‘दुर्घटना एकदमै बढ्यो । यो भएन । सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, प्रहरीका साथीलाई भन्न चाहन्छु । आगामी २–३ महिनामा दुर्घटना कम भएको देखिनुपर्छ । मलाई परिणाम चाहिन्छ,’ उनले भने ।
छलफलमा गृहमन्त्री लेखकले घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाड पर्वमा विशेष व्यवस्था मिलाउन निर्देशन दिए । ‘काउन्टर खोल्ने, टिकट वितरण गर्ने र रात्रीबसमा दुई जना चालक राख्नुपर्छ । मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नुपर्छ । एक महिनापहिले चाड पर्वको तयारी गर्दा नागरिकलाई राम्रो सेवा दिन सकिन्छ,’ उनले भने । सरकार र निजीक्षेत्रका मान्छे बसेर आपसमा समन्वय गरी सेवा प्रवाह प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन छ ।

























