राजनीति
सरकार स्थिर भए नीतिगत स्थिरता कायम हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ, भदौ ११-
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर हुनसके मुलुकमा नीतिगत स्थिरता पनि कायम हुने बताउनुभएको छ ।
आजदेखि काठमाडौँमा सुरु भएको ‘नाडा अटो शो २०२४’ को उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले विद्यमान व्यवस्थामा बन्नसक्ने स्थिर र मजबुद सरकारका रुपमा वर्तमान सरकार रहेको दाबी गर्नुभयो ।
“राजनीतिक परिस्थिति अस्थिर भयो भने नीतिगत स्थिरता कायम हुन सक्दैन । अहिले बनेको यो सरकार स्थिर हो, यसले नीतिगत स्थिरताको पनि बलियो आधार दिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । सरकारको स्थिरतासँगै अब नीतिगत स्थिरता पनि कायम हुने उहाँको भनाइ छ ।
निजी क्षेत्रले व्यापारभन्दा पनि उद्योग र आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड थियो । उद्योग क्षेत्रमा लगानी बढाउने र आन्तरिक उत्पादन प्रवर्द्धन गरेर मात्र मुलुकको अर्थतन्त्र सुदृढ हुँदै जाने उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले सरकारका मन्त्रीहरू औपचारिक कार्यक्रममा बढी अल्झिँदा मन्त्रालयका काम प्रभावित हुनसक्ने भएकाले महत्त्वपूर्ण कार्यक्रमबाहेकमा मन्त्रीहरूलाई आमन्त्रण नगर्न पनि आग्रह गर्नुभयो ।
नाडा अडो सो उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सवारीसाधनलाई विलाशिताका वस्तुभन्दा पनि आवश्यकताको वस्तुका रुपमा लिइनुपर्ने धारणा राखेको छ । साथै, नीतिगत स्थिरता कायम हुनुपर्ने माग पनि निजी क्षेत्रको छ । रासस

























