राजनीति

ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जामन्त्री खड्काद्वारा पूर्वमन्त्रीहरूसँग छलफल

Banner

काठमाडौँ, भदौ ११-

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरूले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज मन्त्रालयमा आयोजना गर्नुभएको पूर्वमन्त्रीसँगको छलफलमा उहाँहरूले ऊर्जा क्षेत्रको विकासमा सबै राजनीतिक दलले एउटै धारणा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

छलफलमा ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न पूर्वमन्त्रीको राय र सुझाव आवश्यक रहेको बताउनुभयो ।
“मुलुकले सबैभन्दा ठूलो आयस्रोतका रूपमा ऊर्जा क्षेत्रलाई लिएको छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ, यहाँहरूजस्ता पूर्वमन्त्रीको अनुभव, राय र सल्लाह मन्त्रालयलाई आवश्यक पर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले बुढीगण्डकी, दूधकोशी, नलगाड, फुकोट कर्णाली, पञ्चेश्वर, माथिल्लो अरुण जलविद्युत्जस्ता आयोजनालाई लगानी कसरी जुटाएर अगाडि बढाउन सकिन्छ, उच्च क्षमताको विद्युत् प्रसारण लाइन निर्माण र विस्तारमा निजी क्षेत्रलाई कसरी आकर्षण गर्न सकिन्छ भन्नेबारे पूर्वमन्त्रीको राय सुझाव माग्नुभएको थियो ।

यस्तै छिमेकी मुलुक भारत, चीन र बङ्गलादेशसँग विद्युत् व्यापारमा सन्तुलन कायम गर्ने र अधिकतम लाभ लिने विषय, विद्युत् निर्यातमा भारत, चीनबाहेक अन्य मित्रराष्ट्रसँगको लगानीका लागि सम्भावनाका विषय, संसद्मा दर्ता भएको विद्युत् विधेयकसम्बन्धी विषयलाई अगाडि बढाउनेबारे छलफल गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>