राजनीति

कांग्रेसमा महाधिवेशन र ‘नेतृत्व हस्तान्तरण’को विषयले दबाबमा देउवा

Banner

काठमाडौं, साउन २९-

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा समयमा १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरण विषयले सभापति शेरबहादुर देउवा दबाबमा परेका छन् । कांग्रेसको १५औं महाधिवेशन २०८२ मंसिरभित्रै गराउनुपर्ने दबाबसँगै नेतृत्व हस्तान्तरणको विषयमा संस्थापन इतरसमूहका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतले दबाब बढाएका छन् ।

नेतृत्व हस्तान्तरणको आन्तरिक दबाबमा परेका देउवा २०८२ मंसिरपछि मात्रै महाधिवेशन गर्ने सुरमा देखिएपछि कांग्रेस केन्द्रीय समितिमा महाधिवेशन समयमा हुनुपर्नेमा नेताहरूले दबाब बढाएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा गत फागुनमा गोदावरीमा भएको महासमिति बैठकमा पेस भएको प्रतिवेदन केही परिमार्जनसहित पेस भएका थिए ।

यो समाचार राजधानी दैनिकमा छ, केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक प्रतिवेदन पेस गरेका थिए । महासमिति बैठकको सुझाव र बदलिएको राजनीतिक घटनाक्रमअनुसार तीन नेताले प्रतिवेदन संशोधनसहित पेस गरेका थिए ।

पाँच दिनदेखि निरन्तर चलिरहेको बैठकमा १५औं महाधिवेशन समयमा गर्नुपर्ने, नेतृत्व हस्तान्तरण र संविधान संशोधनको विषयलगायतमा छलफल भएको थियो । विशेषगरी, सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशन आफू प्रधानमन्त्री भएपछि मात्रै गर्न खोजेको भन्ने आशंकाबीच नेताहरूले दबाब बढाएका छन् ।

विधानतः देउवाले तेस्रो कार्यकालको नेतृत्व गर्नेछैनन्, तर आगामी २०८२ सालमा गर्नुपर्ने १५औं महाधिवेशन देउवाले अनेक बहानामा पर सार्ने हुन् कि भन्ने त्रास नेताहरूमा देखिन्छ । सोही त्रासका कारण नेताहरूले समयावधिभित्र महाधिवेशन नहुने हो कि भनेर बैठकमा आशंका व्यक्त गरेका हुन् ।

पार्टीको विधानमा सभापतिसहित सबै पदाधिकारी र सदस्यको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । विशेष परिस्थितिमा थप १ वर्ष बढाउन पाइने व्यवस्था पनि छ । अर्कातर्फ राजनीतिक दलको महाधिवेशन ५ वर्षभित्र हुन नसके थप ६ महिना बढाउन सकिने प्रबन्ध संविधानमा छ । कांगे्रेसमा अहिलेसम्म कुनै पनि सभापतिले ४ वर्षमा महाधिवेशन गराएको रेकर्ड छैन ।

सधैं आलटाल गर्ने र समय थप्ने गर्दै आएकाले यसपटक पनि देउवाले विभिन्न बहानामा महाधिवेशनको मिति लम्बाउनसक्ने आशंकाका कारण नेताहरूले दबाब बढाएका हुन् । एमालेसँगको सत्ता सहकार्य गर्दा आफू प्रधानमन्त्री भएका बेलामा महाधिवेशन गराउँदा आफूअनुकूलको व्यक्तिलाई नेतृत्वमा ल्याउन सकिने र आफूअनुकूल चलाउन सजिलोका लागि पनि देउवा महाधिवेशन केही पर धकेलेर आफूअनुकूल बनाउन खोज्दै छन् ।

देउवासँग अघिल्लो महाधिवेशनमा पराजित भएका शेखरले कतै आलटाल गरेर महाधिवेशन सार्न खोजिएको त होइन ? भनेर बैठकमा प्रश्न गरेका थिए । देउवाले जवाफमा किन मिति सार्ने ? सबै मिलेर समयमै महाधिवेशन गरौं न, भनेर जवाफ दिएका थिए । शेखरले आफ्नो १० बुँदे लिखित भनाइ राखिरहँदा जब पार्टीको १५औं महाधिवेशन समयमै नहुने आशंका पोखे, तब देउवाले बीचमै रोकेका थिए ।

बैठकका सहभागीका अनुसार कोइरालाले महाधिवेशन नियमित समयमै हुनुपर्ने धारणा राखिरहेका बेला देउवाले उनलाई रोकेर भने, ‘महाधिवेशन नियमित समयमै हुन्छ, सार्ने कुरै छैन, सबै एक भएर त्यसमा लागौं ।’ पार्टीको महाधिवेशन १५ मंसिर २०८२ मा हुनुपर्ने डा कोइरालाको माग थियो ।

डा। कोइरालाले संघ र प्रदेशमा मन्त्री छनोटप्रति पनि असन्तुष्टि जनाए । दुई ठूला दल (नेपाली कांग्रेस र नेकपा एमाले) सुशासनका लागि एकठाउँमा आएको भनिए पनि व्यवहारमा त्यस्तो नदेखिएको उनको टिप्पणी थियो ।

दुई ठूला दलले सुशासनका धेरै प्रतिबद्धता गरेको उल्लेख गर्दै उनले बैठकमा भने, ‘तर, व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरू छनोटले सुशासनलाई जिस्काइरहेको छ, हामी किन यसरी सुशासनका सन्दर्भमा बारम्बार चुक्दै छौं ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>