राजनीति

बेचन झालाई पक्राउ गर्ने डिआइजी मनोज केसीको सरूवा

Banner

काठमाडौं,साउन १२-

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झालाई पक्राउ गर्ने प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरिएको छ। प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा रहेका केसीलाई दुई महिना नबित्दै त्यहाँबाट सरूवा गरिएको हो।

गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ। प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ। मनोज केसी र राजन अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए। बढुवा हुनुअघि केसी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्नमा विशेष ब्युरोको भूमिका थियो। थापा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्। दुई जनालाई प्रहरीले असार १४ गते शुक्रबार पक्राउ गरेको थियो।

तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसमेत मुछिएको यस मुद्दाको अनुसन्धान गर्दा मनोज केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख थिए। उनकै नेतृत्वको टोलीले खाणलाई गत वर्ष वैशाख २७ गते काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो।

यसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता पक्राउ परेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनेतृत्वको सरकारलाई दबाब परेको थियो। त्यति बेला प्रचण्ड कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गर्दै थिए। पछि कांग्रेसकै दबाबमा केसी र जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रमुख रहेका दानबहादुर कार्की (तत्कालीन समयमा एसएसपी) लाई भदौ ४ गते सरूवा गरिएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>