समाचार
धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिमै विवाद

काठमाडौँ, असार १२–
धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिमै विवाद भएको छ।
कम्तिमा तीन जना सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि लर्ट लिष्टमा परेका पाँचमध्ये तीन जना कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्तामा अनुपस्थित भएपछि प्रक्रिया अघि बढाउने कि नबढाउने भन्नेमा समिति सदस्यबीच नै विवाद भएको हो।
स्रोतका अध्यक्ष सिफारिसका लागि बुधबार दुईपटक बोर्डको बैठक बसे पनि कुनै निर्णय हुन सकेन। जसले गर्दा अब सिफारिस समितिले बोर्ड अध्यक्ष सिफारिस गर्ने संभावना करिब सकिएको छ।
सरकारले गत माघ ४ गते अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेको समिति गठन गरेको थियो। गठन हुँदा अर्थसचिव कृष्णहरि पुष्कर भए पनि अहिले मधुकुमार मरासैनीले प्रतिनिधित्व गर्दै आएका छन्।
कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ताका सन्तोष नारायण श्रेष्ठ र मुक्ति नारायण श्रेष्ठ मात्रै उपस्थित भएपछि समितिले महान्यायाधीवक्तासँग कानुनी राय मागेको थियो। महान्यायाधीवक्ता दीनमणि पोखरेलले कानुनअनुसार तीन जना नै सिफारिस गर्नुपर्ने अन्यथा छनोटका लागि पुन शून्यदेखि प्रक्रिया आरम्भ गर्नुपर्ने राय दिएको थियो।
बुधबार समिति संयोजक श्रेष्ठले सर्टलिष्टमा परेका पाँचै जनाको नाम पठाउन प्रस्ताव गरे पनि अर्थसचिव मरासैनीले असहमति जनाएका हुन्। धितोपत्र बोर्डको अध्ययक्ष सिफारिसमा सत्तारुढ दुई दल एमाले र माओवादीबीच विवाद छ।
एमालेले अहिले उपस्थित भएका दुईमध्येबाट बनाउनुपर्ने अडान राखेको छ भने माओवादी श्रेष्ठद्धयलाई कुनै पनि हालतमा नगर्ने पक्षमा उभिएको छ। त्यसैको प्रतिबिम्ब सिफारिस समितिमा परेको हो ।
























