समाचार
भारतले फिर्ता लग्ने भयो अवैध रक्तचन्दन

काठमाडौं, असार ७-
नेपालमा अवैध ओसारपसार भई थन्किएर रहेको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारत रक्तचन्दन लिन तयार भएको हो । भारत सरकारले त्यससम्बन्धी निर्णयसहितको पत्राचार गरिसकेको छ । नेपाल सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र भारतले लग्नुपर्छ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले भारतले रक्तचन्दन फिर्ता लिन पठाएको पत्र प्राप्त भएको जानकारी दिए । ‘भारतले रक्तचन्दन लिन इमेलमार्फत पत्र पठाएको छ ’, उनले भने, ‘यही जुन २० देखि ३० तारिख अर्थात् असार ६ गतेदेखि असार १६ गतेसम्म रक्तचन्दन लग्छौँ भनेर पत्रमा भनिएको छ ।” भारतले आफ्नै खर्च आफ्नो सहजतामा फिर्ता लैजाने छ।’
मन्त्रिपरिषद् बैठकले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि परराष्ट्रमार्फत भारतीय दूतावासलाई पत्र पठाएको थियो । भारतले गत साता मात्रै रक्तचन्दन फिर्ता लिन इच्छुक भएको भन्दै पत्र पठाएको हो ।
अहिले १८ जिल्लामा एक लाख ७३ हजार ७१.७९२ केजी रक्तचन्दन काठ बरामद गरेर राखिएको छ । रक्तचन्दन थन्किएर राखिएका जिल्ला सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, सङ्खुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङ छन् । बरामद रक्तचन्दन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखेका छन्।
वन तथा वातावरण मन्त्राएका प्रवक्ता बद्रीराज ढुङ्गानाका अनुसार भारतले ललितपुरको फ्ल्यास फ्राइट लजिस्टिक कम्पनीमार्फत रक्तचन्दन फिर्ता लिन लागेको छ ।