चितवन विशेष

मन्त्री तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन

Banner

चितवन, असोज ६ –

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आज भरतपुर आँखा अस्पतालको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग भलाकुसारी गर्नुभएको थियो । पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आएकाबारे उहाँले चासो लिनुभएको थियो । ठोरीमा मोतियाबिन्दु र आँखामा पलाएका मासुको शल्यक्रिया बाहेकका शल्यक्रियाका लागि थप उपचारका लागि भरतपुर आउने गर्दछन् । उहाँहरुले मन्त्री तामाङसँग कुरा गर्दै आफूहरु आँखाको उपचार गर्न नेपाल आउने गरेका बताउनुभयो । अस्पतालको सेवा राम्रो भएको उहाँहरुको प्रतिक्रिया थियो ।

नेपाल नेत्रज्योती सङ्घ चितवनले सञ्चालन गरेका आँखा अस्पताल र उपचार केन्द्र गरी २५ स्थानबाट सेवा दिँदै आएको छ । वार्षिक १३ हजारको हाराहारीमा भारतीय बिरामी भरतपुर आँखा अस्पताल र त्यस मातहतका केन्द्रमा उपचारका लागि आउने गरेका छन् ।

मन्त्री तामाङले अस्पताल निरीक्षणपछि नेपाली मात्र नभएर भारतीय बिरामीको उपचार केन्द्र बनेकामा प्रसन्नता व्यक्त गर्नुभयो । बागमती प्रदेश सरकार र आँखा अस्पतालसँग सहकार्य गरेर आँखा उपचारमा लाग्नुपर्नेमा उहाँको जोड थियो । अस्पताल सञ्चालन भइरहेको जग्गा भरतपुर अस्पतालको नाममा भएकामा यसलाई सहजिकरण गरेर आँखा अस्पतालको नाममा हाल्न आफूले पहल गर्ने मन्त्री तामाङले बताउनुभयो ।

हाल आँखा अस्पताल सञ्चालनमा रहेको जग्गा सङ्घीय सरकारले मन्त्रीपरिषद्बाट आँखा अस्पताललाई उपलब्ध गराउने निर्णय भए पनि लालपूर्जा आँखा अस्पतालले पाएको छैन । मन्त्री तामाङले आँखा उपचारमा सामुदायीक क्षेत्रबाट भएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

सो अवसरमा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठले चितवन र छिमेकी जिल्लाहरुमा आँखा उपचारमा योगदान पु¥याउँदै आएको मन्त्री तामाङलाई जानकारी दिनुभयो । सरकारी, गैरसरकारी र नीजि क्षेत्रको सहयोगमा अस्पतालले आम नागरिकलाई सेवा दिन सकेको उहाँको भनाइ छ । हरेक वर्ष तीन लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा दिने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योती सङ्घ चितवनका उपसभापति तेजेन्द्र खड्का, सचिव केशव अधिकारी, वरिष्ठ अस्पताल प्रशासक दयाशङ्कर चौधरीलेलगायतले अस्पतालका बारेमा मन्त्री तामाङलाई जानकारी गराउनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>