चितवन विशेष
माडीमा ४० चेपाङ परिवारलाई एकीकृत बस्ती बनाउँदै बागमती सरकार

चितवन,असार ६-
बाग्मती प्रदेश सरकारले चितवनको माडीमा चेपाङ समुदायको एकीकृत नमुना बस्ती निर्माण गरिरहेको छ। माडी नगरपालिका–७ परेवी बस्तीमा बाग्मती प्रदेश सरकारअन्तर्गत रहेको सहरी विकास तथा भवन कार्यालय हेटौंडाले गत आर्थिक वर्षदेखि चेपाङ समुदायको एकीकृत नमुना बस्ती निर्माण सुरु गरेको हो। उक्त बस्तीमा ४० वटा आवासीय भवन निर्माण भइरहेका छन्।
४० मध्ये २७ वटा आवासीय भवनको निर्माण अन्तिम चरणमा पुगेको र बाँकी भवनको निर्माण भइरहेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख भूपेन्द्र यादवले बताए। ‘चालु आवमा सबै भवनको निर्माण सम्पन्न गर्ने योजना छ,’ उनले भने। प्रदेश सरकारले गत आर्थिक वर्षमा चेपाङ एकीकृत नमुना बस्ती निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो। जग्गा छुट्याउने कार्यमा केही ढिलाइ भएकाले गत आर्थिक वर्षमै भवन निर्माण सम्पन्न हुन नसकेको कार्यालयका प्राविधिकले बताए। यो आवमा निर्माण सकिने उनले बताए ।
चेपाङ समुदायको एकीकृत नमुना बस्ती निर्माणका लागि माडी नगरपालिकाले जग्गा उपलब्ध गराएको हो। ‘एउटा चेपाङ परिवारलाई एक कठ्ठादेखि साढे एक कठ्ठासम्म जग्गा उपलब्ध गराएका छौं,’ माडी नगरपालिकाका मेयर ताराकाजी महतोले भनिन्, ‘जग्गाको बनोट र उब्जनीका आधारमा जग्गा उपलब्ध गराएका छौं।’ बाग्मती प्रदेश सरकारले शौचालयसहित जस्तापाताको छानो भएको भूकम्प प्रतिरोधी भवन निर्माण गरेको छ। छरिएर रहेका र घामपानी छिर्ने छाप्रोमा बस्दै आएका त्यस क्षेत्रका चेपाङ समुदायलाई एकै स्थानमा आवश्यक सुविधासहितको एकीकृत नमुना बस्ती निर्माण भएपछि सहज हुने नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द चेपाङले बताए। ‘उक्त बस्तीमा घर मात्रै पक्की होइन, बस्तीमा बाटोघाटो, पार्क, पानी, बिजुलीलगायतको सुविधा हुनेछ,’ उनले भने।
उक्त नमुना बस्तीमा पक्की सडक, पार्क, पानी, बिजुलीलगायत पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरेको माडी नगरपालिकाका मेयर महतोले बताइन्। ९ वटा वडामा विभाजित माडी नगरपालिकाको जनसंख्या करिब ३८ हजार छ। त्यसमध्ये चेपाङ समुदायको जनसंख्या २ हजार ३ सय २५ रहेको छ। माडी नगरपालिका–७, ८ र ९ मा चेपाङ समुदायको बसोबास छ। अन्य वडामा पनि यस्तै एकीकृत बस्ती निर्माणका लागि पहल भइरहेको माडी नगरपालिकाले जनाएको छ। प्रदेश सरकारले सिन्धुलीमा मुसहर र रामेछापमा माझी समुदायको एकीकृत नमुना बस्ती निर्माण गरिसकेको छ।


























