प्रवास

बलिउड अभिनेत्री रानी मुखर्जीकी आमाको ७५ वर्षको उमेरमा निधन

Banner

मुम्बई, असोज ६ –

बलिउड अभिनेत्री रानी मुखर्जीकी आमा कृष्णा मुखर्जीको मंगलबार दिउँसो ७५ वर्षको उमेरमा निधन भएको छ। यशराज फिल्म्स (वाइआरएफ) ले आधिकारिक बयान जारी गर्दै यसबारे जानकारी दिएको हो।

कृष्णा मुखर्जी बंगाली सिनेमाकी परिचित पार्श्व गायिका थिइन्। उनी प्रायः आफ्नी छोरी रानीसँगै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा देखिने गर्थिन्। यस कठिन समयमा परिवारले मिडिया र शुभचिन्तकहरूसँग गोपनीयता कायम राख्न अपिल गरेको छ।

यशराज फिल्म्सले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भारी हृदयका साथ हामी रानी मुखर्जीकी आमा श्रीमती कृष्णा मुखर्जीको आज दिउँसो ७५ वर्षको उमेरमा निधन भएको जानकारी गराउँछौँ। यस कठिन घडीमा परिवारलाई प्राप्त माया, प्रार्थना र समर्थनका लागि मुखर्जी परिवार आभार प्रकट गर्दछ। साथै यो समयमा गोपनीयताको अपेक्षा गर्दछ।’

कृष्णा मुखर्जीको भारतीय सिनेमा, विशेष गरी बंगाली फिल्म उद्योगसँग गहिरो सम्बन्ध थियो। व्यावसायिक पार्श्व गायिकाका रूपमा उनले धेरै बंगाली फिल्ममा गीत गाएकी थिइन्। संगीतमा आबद्ध भएकाले नै उनले छोरी रानीलाई कला र अभिनयको क्षेत्रमा अघि बढ्न प्रेरित गरेकी थिइन्। रानी आफ्नी आमाको निकै नजिक थिइन् र धेरै अवसरहरूमा उनले आफ्नो सफलताको श्रेय आमालाई दिने गरेकी थिइन्।

आफ्नो करियरको सुरुआतदेखि नै रानी कुनै पनि अवार्ड समारोह, फिल्म स्क्रिनिङ वा सार्वजनिक कार्यक्रममा जाँदा कृष्णा उनीसँगै देखिन्थिन्। पति राम मुखर्जीको निधनपछि पनि कृष्णा आफ्नी छोरी रानीसँगै रहेर परिवारको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

सन् १९८० को दशकमा पार्श्व गायनमा सक्रिय रहेकी कृष्णाले धेरै चर्चित गीतहरूमा आफ्नो आवाज दिएकी थिइन्। उनको सबैभन्दा प्रसिद्ध गीत सन् १९८२ को फिल्म ‘तीसरी आँख’ को ‘ईद के दिन गले मिल ले राजा’ थियो, जसलाई चर्चित संगीतकार जोडी लक्ष्मीकान्त(प्यारेलालले तयार पारेका थिए। संगीत पृष्ठभूमि भएकाले उनको शास्त्रीय र लोक संगीतमा बलियो पकड थियो।

संगीत करियरका साथै कृष्णालाई फिल्म उद्योगको काम र व्यापारको पनि राम्रो ज्ञान थियो। उनकै सल्लाहमा रानीले फिल्ममा भाग्य आजमाएकी थिइन्। यद्यपि, उनी कामको गुणस्तरलाई लिएर निकै कडा थिइन्। रानीको पहिलो स्क्रिन टेस्टका क्रममा छोरीको अभिनय मन नपरेपछि उनले ‘राजा की आयेगी बारात’ का निर्माता सलिमलाई रानीलाई फिल्ममा नलिन र यसबाट आर्थिक घाटा हुन सक्ने भन्दै खुलेर भनेकी थिइन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>