तनहुँ

चितवन र तनहुँ जोड्ने घुमाउनेको पुल नौ वर्षदेखि अलपत्र,निर्माण सम्पन्न गराउन सांसद वाग्लेले थाले पहल

Banner

दमौली,असार ६-

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेस्थित मर्स्याङदीमा निर्माण सुरु गरी अलपत्र पारिएको पक्की पुल सुचारु गराउन पहल थालिएको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले विगत नौ वर्षदेखि अलपत्र बनेको उक्त पुल सुचारु गराउन पहल थाल्नुभएको हो ।

पुलको काम सुचारु गराउने विषयमा बुधबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा छलफल गरिएको छ । छलफलमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, पुल शाखाका प्रमुख ललितजन खनाल, डिभिजन सडक कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवाली र इन्जिनियर श्रीराम न्यौपाने सहभागी हुनुहुन्थ्यो ।

निर्माण व्यवसायी मृत सञ्जीवनीले दुई वटा पिल्लरलगायत ४५ प्रतिशत काम सम्पन्न गरेता पनि नदीमाथि ‘आर्क’को प्रगति नभएकाले दुईरतीन वटा विकल्पमा छलफल गरिएको सांसद वाग्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुल समयभित्रै सम्पन्न हुनुपर्नेमा यत्तिका वर्षसम्म खास प्रगति भएको छैन । अब यो पुललाई सम्पन्न गराउन के गर्नुपर्छ सबै विकल्पमा छलफल गरिएको छ ।”

मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडाले पहिलो पटक विसं २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरिएको थियो । मर्स्याङदी नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी ‘आर्कब्रिज’ बनाउन लागिएको हो । अहिलेसम्म वारिपारीका फाउण्डेशनको काम मात्रै सकिएको छ । आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने मर्स्याङदी नदीमाथिको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गमा पर्ने उक्त पुल निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालित मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटर दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो-याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>