खेलकुद
विश्वकप छनोटः नेपाल यूएईसँग पराजित

काठमाडौं,जेठ २५-
फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा नेपाल संयुक्त अरब इमिरेट्स यूएईसँग पराजित भएको छ। साउदी अरेबियाको दम्माम स्थित प्रिन्स महोम्मद विन फहद रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा विश्वकप होडबाट बाहिरिसकेको नेपाल यूएईसँग ४-० ले पराजित भएको हो।
नेपालले अब समूहको अन्तिम खेल दम्मास्थित सोही रंगशालामा यमनसँग आगामी जुन ११ तारिखमा खेल्नेछ। नेपाल र यमन दुवैका लागि सो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। नेपाल जितसँगै गोलको खडेरी टार्ने ध्याउन्नमा हुनेछ भने यमन पनि थप अंक बटुलेर सुखद अन्त्य गर्न चाहन्छ।
नेपालले यसअघि अबे म्याचमा यूएईसँग ४-० ले नै पराजय भोगेको थियो। समूहमा नेपालले ४ खेल खेल्दा एक अंक पनि जोड्न सकेको छैन भने तेस्रो चरण नपुग्ने पक्का भइसकेको छ। नेपालले पहिलो खेलमा यूएईसँग ४–०, दोस्रो खेलमा यमनसँग २–०, तेस्रो खेलमा बहराइनसँग ५–० र चौथो खेलमा बहराइनसँग नै ३–० गोलको हार ब्यहोरेको थियो।