राजनीति
प्रतिबन्ध फुकुवा गर्न टिकटकले सरकारलाई ७ पटक लेख्यो पत्र

काठमाडौ, जेठ २४-
सामाजिक सञ्जाल टिकटकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएको छ । नेपालमा बन्द रहेको टिकटक फुकुवा गरिदिन आग्रह गर्दै पुनः पत्र लेखेको हो । बन्द गरिएको आठ महिनाको अवधिमा टिकटकले सरकारलाई फुकुवा गरिदिन आग्रह गर्दै ७ पटक पत्र लेखेको छ ।
टिकटकले यसअघि गत जनवरी २२ मा प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेर टिकटक बन्द नगर्न आग्रह गरेको थियो। टिकटक साउथ एसियाका प्रतिनिधिले फेब्रुअरी पहिलो साता प्रधानमन्त्री प्रचण्डलाई भेटेका पनि थिए।
यसपटक पनि टिकटक दक्षिण एसियाका सार्वजनिक नीति र सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले एक पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डमार्फत् पुनः नेपाल सरकारको ध्यानाकर्षण गराएको हो। टिकटक साउथ एसियाले सञ्चार तथा सूचना प्रविधी मन्त्री र गृह मन्त्रीलाई समेत बोधार्थ पठाएको छ।
‘हाम्रो धेरै पत्राचार, अझ बढी केन्द्रीकृत र बजार प्रतिबद्धता प्रस्ताव गर्ने प्रयासहरूको बाबजुत पनि नेपाल सरकारले टिकटकलाई बन्द गर्नु र अहिलेसम्म कुनै पनि प्रतिक्रिया नदिनुले हामी अत्यन्त दुखी भएका छौं,’ पत्रमा भनिएको छ।

























