समाज
आर्थिक विधेयकमा कर सम्बन्धी व्यवस्थाका बारेमा अन्तरक्रिया

चितवन, जेठ २४-
उद्योग वाणिज्य संघ–चितवन र आन्तरिक राजश्व कार्यालय भरतपुरको संयुक्त आयोजनामा आर्थिक विधेयक २०८१ ले प्रदान गरेका छुट, सुविधा तथा कर प्रशासनसँग सम्बन्धित ऐन नियमावलीमा भएका संशोधनको विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
चार्टड एकाउन्टेन्ट एशोसिएसन अफ चितवनको समन्वयमा भएको उक्त कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघ व्यवसायीहरुको समस्या समाधानमा सँधै सक्रिय भएर लाग्ने बताए । उनले कर तथा राजश्व नीतिका बारेमा अन्य तालिमको आवश्यकता परे संघ तालिम प्रदान गर्न तयार रहेको बताए । उनले आर्थिक विधेयक २०८१ ले प्रदान गरेका छुट, सुविधा तथा कर प्रशासनसँग सम्बन्धित ऐन नियमावलीमा भएका परिवर्तनका बारेमा उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईले कर तथा राजश्व सम्बन्धी केही गुनासो भएमा निर्धक भएर कर कार्यालय आउन अनुरोध गर्दै करका बारेमा सिकाउन कार्यालय सधै तयार रहेको बताए ।
कार्यक्रममा स्रोत व्यक्ति एवं आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गंगाराम अर्यालले व्यवसायीहरूलाई आर्थिक विधेयक २०८१ ले प्रदान गरेको कर छुट सहुलियत एवं विद्यमान कर व्यवस्थामा भएका परिवर्तनका बारेमा जानकारी गराए । उनले व्यवसायीहरूका गुनासाहरू सम्बोधन गर्दै करका नियमहरूका बारेमा पनि जानकारी गराए ।
कार्यक्रममा चार्टड एकाउन्टेन एशोसिएसनका चितवनका सिए विशाल भट्टराईले पनि कर सम्बन्धी प्रस्तुती दिए । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गरेको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति सदस्यहरू, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी एवम् उद्योगी व्यवसायी लगायत ८० जना भन्दा बढी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।