नवलपरासी

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

०
Banner

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), असोज १० –

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगतै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

नारायणी नदीमा आएको बाढी सुस्ता पसेपछि सुस्ताका अधिकांश घर डुबानमा परेका सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले बताउनुभएको छ । शुक्रबार दिउँसोदेखि लगातार परेको वर्षाले यहाँका १०० भन्दा बढी घर डुवानमा परेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ २२० परिवार बसोबास गर्दै आएका छन् । सुस्ताका थारू टोलमा सबैभन्दा पहिला बाढी पसेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाढी पसेका घरका नागरिकलाई सुस्तामा रहेको आश्रयस्थलमा राखिएको बताउनुभयो । नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेकाले महिला, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर रहेकालाई नारायणी नदीवारि सुस्ता-५ मा रहेको बिपी मावि बलिनगरमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

अहिलेसम्म बाढीबाट डुबानमा परेका २९ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरी सुरक्षित स्थानमा पठाएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिनुभयो । बाढी पसेपछि पक्कीबाहेक कच्ची घर(खरपात तथा माटोले बनेका) मा क्षति बढी भएको सुस्ताका स्थानीय मुन्सीकुमार हरिजनले बताउनुभयो । नारायणी नदीमा यो वर्षकै सबैभन्दा ठूलो पानी आएको मापन गरिएको छ । गण्डक ब्यारेज वाल्मीकिनगरका अनुसार नारायणी नदीमा अहिले दुई लाख ८० हजार क्युसेक पानी पुगेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>