राजनीति

छानबिन समितिले सहकारी ठगीमा संलग्न प्रत्येकको हिसाब माग्छः महामन्त्री थापा

Banner

काठमाडौँ, जेठ १७

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्न प्रत्येकको हिसाब माग्ने बताएका छन् ।

महामन्त्री थापाले बिहीबार सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै कांग्रेस माग अनुसार बनेको समितिले सहकारी ठगीमा संलग्न व्यक्तिसँग हिसाब माग्ने बताए ।

‘सहकारी ठगीमा संलग्न देखिएका व्यक्तिहरूका बारेमा अध्ययन गर्नेजस्ता कुरा संसदीय छानबिन समितिको कार्यादेशमा राखिएको छ,’ थापाले भने, ‘यो समिति जे सोचेर कांग्रेसले विषय उठाएको हो त्यही अनुरूपको समिति बनेको छ । यसमा संलग्न भएका प्रत्येक मानिसको हिसाबकिताब यो समितिले माग्छ, माग्नका लागि बनाएको हो ।’

समितिको कार्यादेशअनुसार नै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छानबिनको दायरामा आउने महामन्त्री थापाको दाबी छ । निजी संस्थाले कुनै पनि सहकारीबाट पैसा लिन नपाउने भए पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीबाट रकम लिएको थापाको दाबी छ ।

‘छानबिन समितिमा रहेका सांसदहरूले कार्यादेश के हो भन्ने राम्रोसँग बुझ्नुभएको छ,’ थापाले भने, ‘गोरखा मिडिया नेटवर्कमा संलग्न गृहमन्त्रीलाई पनि बयानमा बोलाउने हो भनेर कार्यादेश बनाउने बेला नै प्रधानमन्त्रीसँग छलफल भएको थियो। भोलिका दिनमा भाषामा गएर कपटपूर्ण ढंगले व्याख्या गर्न पाउँदैन भनेर प्रधानमन्त्रीले भनेका कुरा सुन्ने साथीहरू नै समितिमा हुनुहुन्छ ।’

संसदीय समितिले बचतकर्ताको जोखिममा परेको र डुबेको रकम फिर्ता गर्ने उपायसँगै आवश्यक परे कानुन नै संशोधन गर्न पनि सिफारिस गर्ने थापाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>