राजनीति

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिलाहरु अग्रमोर्चामा छन्ः अध्यक्ष ओली

Banner

काठमाडौँ, जेठ १६-

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरु अग्रमोर्चामा खटिने गरेको बताउनुभएको छ ।

आजदेखि यहाँ सुरु भएको एमालेको दुई दिने राष्ट्रिय महिला भेलाको उद्घाटनसत्रमा पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई ध्वस्त बनाउन खोजिएका बेलामा समेत महिला र युवाले पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उत्रने गरेको बताउनुभएको हो । “तपाईंहरुको सक्रियता, वैचारिक स्पष्टता र दृढ अडानलाई म सलाम भन्न चाहान्छु । तपाईंहरुको यो यात्रा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म निरन्तरता दिनुहोला । त्यसपछि एमालेलाई कसैले हल्लाउन सक्दैन र हामी नेपालको राष्ट्रिय स्वाभिमानको झण्डालाई माथि उठाएर समाजमा सुशासन दिँदै विकासलाई गति दिन सक्षम हुनेछौँ ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सानासाना सहकारीको प्रवद्र्धन र उद्यमशीलताको विकास गर्दै समृद्धिमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले हरेक महिलाले केही न केही नयाँ उत्पादन गरेमा नेपालीहरु स्वावलम्बी बन्न सक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लगानी धेरै नगरी पनि उद्यमशीलता बढाउन सकिन्छ । महिला आन्दोलनको एउटा अभिष्ट यो पनि हो । हामी समृद्ध नेपाल, सुखी नेपालको गन्तव्यमा जानुछ, त्यसका लागि तपाईंहरुले आफ्नो ठाउँबाट योगदान दिन सक्नुपर्छ ।” उहाँले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता भएकै कारण खुसी मान्न नसकिने बताउँदै सामाजिक न्याय र समानताका लागि थप उपलब्धि हासिल गर्न एमाले स्पष्टरुपमा अगाडि बढ्ने उद्घोष गर्नुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार सहभागी छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>