दमौली

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गर्नुपर्छः मुख्यमन्त्री अधिकारी

Banner

दमौली (तनहुँ), जेठ १०-

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले पार्टीलाई देशकै सबैभन्दा ठूलो र निर्णायक शक्ति बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

आगामी निर्वाचनमा तीनवटै तहमा एमालेको एकल बहुमत आउने गरी तयारी थाल्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा स्थानीय, प्रदेश र सङ्घमा बहुमत ल्याउने गरी काम गर्नुपर्ने लक्ष्यमा हिँडेका छौँ । यसका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।”

पार्टीका स्थायी कमिटी सदस्य रहनुभएका मुख्यमन्त्री अधिकारीले देश विकास, स्थिरता र आर्थिक समृद्धिका लागि एमालेलाई मूल शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशमा सरकार गठनको विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै सर्वोच्चको फैसला मानेर जानुको विकल्प नभएको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया सुरु गर्न लागेको बताउँदै मुख्यमन्त्री अधिकारीले शुक्रबारदेखि सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभामा छलफल प्रारम्भ गरिने जानकारी दिनुभयो । उहाँले समाजवादको यात्रामा अगाडि बढ्ने क्रममा आइपर्ने बाधालाई पन्छाउँदै निरन्तर गन्तव्यतर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री अधिकारीले भ्रष्टाचारलाई ढाकछोप गर्ने, कानुनको दुरुपयोग गर्ने लगायतका काम कोही कसैले गर्न नहुनेमा जोड दिनुभयो । पार्टीभत्र कोही पनि सदस्य सहकारीको अपचलनमा रहेको भेटिए तत्कालै कारबाही गरिने उहाँको भनाइ छ ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “हामी त्यस्ता व्यक्तिलाई संरक्षण गर्दैनौँ, पार्टीकै सहकारी विभागका सचिवको विषयमा कुरा आएपछि हामीले जिम्मेवारीबाट हटाएका छौँ ।” उहाँले प्रदेश सरकार प्रदेशलाई समृद्ध र विकासको गतिमा अगाडि बढाउन दृढ भएर लागेको उल्लेख गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>