चितवन विशेष

भरतपुरमा दुई दिने कानुनी सचेतना तालिम

Banner

चितवन, वैशाख ९-

भरतपुर महानगरपालिकामा दुई दिने कानुनी सचेतना तालिम सुरु भएको छ ।

प्रत्येक वडाका नागरिकलाई वडा सदस्यहरु मार्फत् न्यायको पहुँच, न्याय सम्पादन र न्यायिक अधिकारका सवालमा सबल र सक्षम बनाउने उद्देश्यले महानगरपालिकाले २९ वटै वडाका वडा सदस्यलाई दुई दिवसीय कानुनी सचेतना तालिम दिन सुरु गरेको हो ।
तालिमलाई दुई चरणमा विभाजन गरी दिन सुरु गरिएको छ । वडा नम्बर १ देखि १५ सम्मका वडा सदस्यलाई आज पहिलो दिन आइतबार र १६ देखि २९ सम्मका वडा सदस्यलाई भोलि सोमबार तालिम दिइने कानुनी मामिला शाखाका प्रमुख सुरजराज पौडेलले जानकारी दिए ।

तालिम उद्घाटन गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले न्यायमा पहुँच महंगो छैन भन्ने मान्यता स्थापित गरेको धारणा राखे । न्याय मरेको छैन र मर्न दिइने पनि छैन भन्नका लागि यस्ता खालका तालिम अर्थपूर्ण हुने बताए ।

महानगरको न्यायिक समिति संयोजक समेत रहेका अधिकारीले स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने तथ्य पनि स्थापित भएको धारणा राखे । ‘स्थानीय सरकारलाई दिएका न्यायिक निरुपणका अधिकार हामीले वडा तहमा लगेका छौँ । वडा तहमा रहेको मेलमिलाप केन्द्रले यी अधिकारको प्रयोग गरिरहेका छन्’ उनले भने ।

‘स्थानीय विवाद निरुपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास हुनु आवश्यक छ’ उपप्रमुख अधिकारीको भनाइ छ । उनले भने ‘ठाउँ, भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्छन् । विवादका प्रकृति फरक भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्छ ।’

विवादलाई सिर्जना भएकै बिन्दुमा निरुपण गर्न वडास्तरीय संयन्त्रभन्दा अर्को प्रभावकारी संयन्त्र नभएको उनले बताए । यसकारण केन्द्रमा र जिल्ला अदालतमा कम मुद्दा पुग्ने गरेको उनले बताए । उनले भने, ‘न्यायिक विकेन्द्रीकरणको यो नमूना योग्य कदम हो ।’

‘प्राकृतिक न्यायको सिद्धान्त’ , ‘विवाद समाधानमा स्वच्छ सुनुवाइको सिद्धान्त’, ‘न्याय ढिला हुनु हुँदैन र हतारमा अङ्ग नपुगी पनि गर्नु हुँदैन’ र ‘ढिलो न्याय दिनु न्याय नदिनु सरह हो’ उनको तर्क रहेको थियोे ।

तालिममा आज भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधाका सम्बन्धमा प्रशिक्षण दिएका छन् । त्यस्तै शाखा अधिकृत राजन सापकोटाले वडा सदस्यको काम,कर्तव्य र अधिकारका सम्बन्धमा सहजीकरण गरेका छन् । अर्का प्रशिक्षण मेलमिलाप विज्ञ बन्धुराज पौडेलले स्थानीय जनप्रतिनिधिको न्याय सम्पादनसम्बन्धी ब्यवस्था, महानगरका कानुनी सल्लाहकार गोपिलाल देवकोटाले कानुनको परिचय, समसामयिक कानुनको बारेमा जानकारी र जनप्रतिनिधिको आचारसंहिताका सम्बन्धमा प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा कार्यपालिका सदस्य गोपाल दराइ, विष्णुबहादुर भुजेल, सामान्य प्रशासन शाखा प्रमुख उपेन्द्रराज पौड्याललगायतको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>