देश/प्रदेश

गुजारा गर्न गर्मीयाम सुरु भएसँगै चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ

Banner

कञ्चनपुर, चैत १९-

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त हुनुहुन्छ । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ ।

भीमदत्त–४ महेन्द्रनगरमा निमबहादुरले उखु पेल्ने काम थालेर मनग्य आम्दानी गरिरहनुभएको छ । उखु पेलेरै उहाँले तीन सदस्यीय परिवारको घरखर्च चलाइरहनुभएको छ ।

“गर्मीयाम सुरु भएकाले उखुको जुस सबैको रोजाइमा पर्छ, दैनिक रु दुई हजारभन्दा बढी आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “स्वदेशमै यति राम्रो आम्दानी भएपछि विदेश जानुपर्ने बाध्यता रहेन ।” खर्च कटाएर दैनिक रु एक हजार पाँच सय बचत हुने गरेको उहाँको भनाइ छ । सालघारीमा बसोबास गर्ने निमबहादुरको परिवारमा उहाँका श्रीमती र आमा हुनुहुन्छ ।

उहाँ उखुको जुस निकालेर बिक्री गर्ने गर्नुहुन्छ । रु ४० प्रतिगिलासका दरले उखुको जुस बिक्री हुने गरेको उहाँको भनाइ छ । “प्रत्येक दिन बिहान उखु किनेर ल्याउँछु, बेलुका त्यो उखु सकिन्छ”, निमबहादुर भन्नुहुन्छ, “प्रतिक्विन्टल रु एक हजारमा उखु पाइन्छ ।” निमबहादुरले रु ९३ हजारमा उखु पेल्ने मेसिन किनेर यो व्यवसाय सञ्चालन गर्नुभएको हो ।

स्वदेशमा रोजगारी नपाएपछि युवा विदेशिनेक्रम बढिरहेका बेला निमबहादुर भने स्वदेशमै केही गर्न सकिन्छ भनेर व्यवसायमा लागेको बताउनुहुन्छ । “अर्काको देशमा पसिना बगाएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानै भए पनि व्यवसाय गर्ने सोच बनाएँ”, उहाँले भन्नुभयो, “अहिले राम्रै आम्दानी भइरहेको छ, गरे स्वदेशमै पनि राम्रो कमाइ गर्न सकिन्छ ।”

निमबहादुर घर बनाउने काम गर्ने मिस्त्री पनि हुनुहुन्छ । मिस्त्री काममा आम्दानी कम भएर घर खर्च चलाउन गाह्रो हुँदा पनि उहाँ विचलित हुनुभएन । विदेश नगएरै स्वदेशमै उखु पेल्ने काम गर्ने योजना बनाएको उहाँ सुनाउनुहुन्छ । “कोरोनापछि मिस्त्री काम धेरै कम पाइन थाल्यो, मिस्त्री कामले गुजारा चल्ला जस्तो भएन”, निमबहादुर भन्नुुहुन्छ, “विदेशमा गएर जस्तो पायो त्यस्तो काम गर्छन्, त्योभन्दा त देशमै सानै भए पनि आफ्नै काम गर्छु भनेर यसमा लागेको हुँ ।”

तीस वर्षीय निमबहादुरले कक्षा १० सम्मको अध्ययन गर्नुभएको छ । अठार वर्षको हुँदा बुवा गुमाएपछि परिवारका एक्ला छोरा निमबहादुुरको काँधमा जिम्मेवारी थपियो । त्यसपछि उहाँले उच्च शिक्षा हासिल गर्न सक्नुभएन । घर खर्च जोहो गर्न मजदुरी थालेका उहाँले मिस्त्रीको काम पनि सिक्नुभएको थियो ।

दैनिक रु दुई सय ५० मा मजदुरी गर्नुभएका निमबहादुर मिस्त्री बनेसँगै दैनिक रु एक हजार कमाउनुहुन्थ्यो । “दुई वर्षसम्म मजदुरी गरे, मजदुरी गर्दा गर्दै मिस्त्रीको काम पनि सिकियो, मिस्त्री काममा पनि सुरुमा राम्रै थियो, कोरोनापछि निकै कम काम पाइन थाल्यो”, उहाँले भन्नुभयो, “कति महिना घरमै बसे, त्यसपछि उखुको व्यवसायमा लागेको हुँ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area