देश/प्रदेश

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा

Banner

इलाम, चैत १३-
इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गर्नुभयो । संयुक्त परिवारमा बस्दै आउनुभएका उहाँको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो । उहाँले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेच्नुभएको थियो ।

यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले खेतीयोग्य जमिन मासेर अम्रिसो लगाउनुभएको थियो तर कुचोको मूल्य घट्यो । ३० क्विन्टल कुचो बिक्री गर्दा राम्रो भाउ आएन । “यतिबेला प्रतिकिलो रु ६० देखि रु ६५ मात्र छ, खेताला लगाएको पारिश्रमिक पनि नउठ्ने भएपछि गोदाममा नै थन्क्याएर राखेको छु,” उहाँले भन्नुभयो, “अलि भाउ आउँछ कि भनेर पर्खेको तर भाउ आएन, यो साल घरखर्च टार्न समस्या हुने भयो ।”

माकाहाङकै अर्का किसान रणबहादुर लिम्बू समस्या पनि उदयको भन्दा फरक छैन । गुजारा चलाउने माध्यम अम्रिसो खेतीलाई बनाउनुभएका लिम्बूको परिवार अहिले कसरी घरव्यवहार चलाउने भन्ने चिन्तामा छ । गत वर्ष प्रतिकिलो रु एक सय २० का दरले १२ क्विन्टल कुचो बेच्नुभएका उहाँले यस वर्ष प्रतिकिलो रु ७० ले मात्र कुचो बेच्नुभयो । कुचोबाट आम्दानी हुने आशाले खेतीयोग्य जमिनमा अम्रिसो रोप्नुभएका उहाँलाई कुचोले भाउ नपाएपछि चिन्ताले पिरोलेको छ ।

उहाँहरु प्रतिनिधि किसान मात्र हुन् । यस वर्ष कुचोले राम्रो मूल्य नपाएपछि उहाँहरुजस्ता जिल्लाका प्रायः सबै किसानलाई गुजारा चलाउन समस्या परेको छ । विगतका वर्षमा अम्रिसोबाट उत्पादन हुने कुचोको मूल्य उच्च रहेकाले इलामका अधिकांश किसानले खेतीयोग्य जमिन मासेर अम्रिसो रोपेका थिए तर यस वर्ष कुचोको मूल्य घटेपछि किसानमा निराशा छाएको छ । गत वर्ष प्रतिकिलो रु एक सय २० देखि रु एक सय ३० सम्ममा किनबेच भएको कुचो अहिले प्रतिकिलो रु ६५ मा मात्र किनबेच भइरहेको माङसेबुङ गाउँपालिका–५ का व्यापारी जसहाङ साउदेनले बताउनुभयो । यो मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले कमी हो ।

भाउ घटेकै कारण किसानबाट किनेको कुचो बिक्री नगरी गोदाममै थन्क्याएर राख्न बाध्य भएको साउदेनले बताउनुभयो । “यस वर्ष सुरुमा ‘ए ग्रेड’ कुचोको भाउ प्रतिकिलो रु ७० देखि ७५ सम्म चल्यो । मैले पनि सोही भाउमा किसानबाट कुचो किने तर अहिले भाउ घटेर प्रतिकिलो रु ६५ मा झर्‍यो ,” उहाँले भन्नुभयो, “करिब आठ सय क्विन्टल कुचो गोदाममै थन्क्याएर राखेको छु । यस वर्ष कुचोले किसान मात्र होइन व्यापारीलाई समेत घाटा लगाएको छ ।”

जिल्लामो अलैँची खेती मासिने क्रम बढेपछि अधिकांश किसानले अम्रिसो लगाएका थिए । पाखो र भिरालो जमिन भए पनि सप्रिने अम्रिसो अलैँचीको वैकल्पिक खेती बनेको थियो । अम्रिसो खेती इलामका प्रायः सबै पालिकामा हुने गर्छ । इलाममा उत्पादित कुचो झापाको धुलाबारीमा सङ्कलन गरी काकटभिट्टा हुँदै भारत निकासी हुने गर्छ । इलाममा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन कुचो उत्पादन हुने गरेको तथ्याङ्क छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा वृद्धि हुने व्यापारीको अनुमान छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area