राजनीति
उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, कात्तिक १० –
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटका अवसरमा नेपाल–जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, मित्रता तथा सहयोगका आधारमा निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको सामाजिक–आर्थिक विकास, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा जर्मनीले पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गर्नुभयो ।
उपराष्ट्रपति यादवले गत भदौ १० गते आएको भोटेकोशीको बाढी र विपत्तिपछि जर्मन सरकारबाट प्राप्त राहत तथा आर्थिक सहयोगका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस अवसरमा राजदूत भोल्जले नेपाल र जर्मनीबीचको सम्बन्ध घनिष्ठ र विश्वासपूर्ण रहेको उल्लेख गर्दै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै नेपालले विपत्तिको प्रभावबाट शीघ्र पुनःउत्थान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाललाई विपत्तिपछिको पुनःनिर्माण तथा पुनःस्थापनामा प्रदान गर्न सकिने सहयोगका सम्भावित क्षेत्रका बारेमा जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयकी संसदीय राज्यमन्त्री डा बार्बेल कोफ्लरको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको जानकारी पनि दिनुभएको थियो ।























