देश/प्रदेश

मिथिलामा होली: सद्भावसँगै जोडिएको संस्कृति

Banner
काठमाडौँ, चैत १०-
फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । यद्यपि तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरे पनि भोलिपल्ट (प्रतिपदाको दिन) मात्र होली मनाउने गरिएको छ ।
बराह पुराणअनुसार पाटवास–विलासिनी अर्थात् पाउडर मिलेर बनेको खेलका रूपमा रहेको फागु पूर्णिमा सामाजिक सद्भाव र माधुर्यता झल्काउने असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ ।
मिथिला संस्कृतिमा पूर्णिमाका दिन जनकपुरलगायत देवालयमा विशेष मेला लाग्ने गर्छ । पूर्णिमाको दिन जनकपुरधामको परिक्रमा गरिने भएकाले मदिरा र मासु सेवन वर्जित हुन्छ । पूर्णिमाका दिन १५ दिने परिक्रमाको समापन गरिने हुँदा मिथिलावासी भोलिपल्ट होली मनाउने गर्छन् ।
मिथिला संस्कृतिमा वसन्त पञ्चमीको दिनदेखि डम्फ र मजिराका साथ होलीका गीत गाउने होलैता तयार हुन्छन् । यो क्रम फागु पूर्णिमाको भोलिसम्म चल्छ । पूर्णिमाको राति होलीका गीत ९फागु० गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ । फागुका दिन रङ्ग तथा अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ‘जे जीवे से खेले फागु’ भन्दै त्यहाँबाट ‘चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ ।
पहिले पहिले गाउँघरमा दूध र मसलामिश्रित भाङ तयार हुन्थ्यो । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे । होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी बिदा गरिन्थ्यो । यद्यपि पछिल्लो समय यो संस्कृति बिस्तारै लोपोन्मुख छ । ‘परदेशीया ल धोतिया रङ्गावे गोरिया’, ‘हो रङ्गावे गोरिया।।’, ‘जमुना तट श्याम खेलैय होरी’, ‘किनकर हाथ अबिर झोरी।।’ लगायत गीत अहिले विरलै सुनिन्छन् ।
सामाजिक सद्भाव, सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुको मौलिकतालाई गम्भीरतापूर्वक नलिएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको आभाष हुन्छ । होलीको मिथिला संस्कृति लोप हुनुमा सहरिया र आयात संस्कृति हाबी भएको धीरेन्द्र प्रेमर्षिको साहित्यिक नामले परिचित धीरेन्द्र झाले बताउनुभयो । रमझम मात्रमा सीमित हुँदा युवाले मिथिलामा मौलिक संस्कृतिलाई विस्तारै भुलिरहेको उहाँको बुझाइ छ ।
“पहिला गाउँमा रातपरेपछि गाउँ बुढापाका एकत्रित भई झ्याल, मृदङ्ग, ढोल लिएर समूहगत रुपमा होली गीत गाउने गर्नुहुन्थ्यो, अहिले त्यो समय कहाँ रह्यो र ? , गाउँका अधिकांश युवा कामका लागि विदेशमा गएका छन्, बाँकी रहेका बुढापाकाले कहिलेकाहीँ मात्र जोगिरा गाउने गरेका छन्, सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ तर यसको रौनकता नै समाप्त भएर जान लागेको भान भइरहेको छ”, साहित्यकार झाले भन्नुभयो ।
मिथिला संस्कृतिमा वसन्त पञ्चमीको दिनदेखि डम्फ र मजीराका साथ होलैताले होलीका गीत गाउने क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ । “यो संस्कृति पुस्तान्तरण भएन, किनकि माओवादी युद्धको समयमा रातमा होलैताले गीत गाउन सकेनन्”, साहित्यकार झाले भन्नुभयो, “होलीमा गाइने गीतसँगै संस्कृति नयाँ पुस्तामा नआउँदा अहिले होलौता भेटिँदैनन्, नयाँ पुस्ता संस्कृतिसँग बेखबर छन्, गाइने गीत पनि कहाँ सुरु हुन्छन्, कहाँ अन्त्य हुन्छन् रु बुझ्न मुस्किल छ ।”
मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा पूर्वसन्ध्यामा आयोजना गर्ने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । महामूर्ख हुनेलाई समाजमा उच्च व्यक्तित्व मानिन्छ । विभूषित गरिने उपाधि महामूर्ख, पटमूर्ख, चौपटट्मूर्ख, मूर्खानन्द र मूर्खाधीशलगायत छन् । विभूषित हुनेलाई काउली, फर्सी, खुर्सानी, आलुलगायत विभिन्न तरकारीको माला लगाइने गरिन्छ । अन्य बेला महामूर्खभन्दा रिसाउने होलीका अवसरमा त्यस्ता विभूषण पाएर दङ्ग पर्छन् ।
अझै पनि मिथिलाका पुराना मानिस संस्कृतिलाई अगाडि बढाउन तत्पर छन् । यद्यपि नयाँ पुस्ताले गाउँ छोड्ने, सहरिया संस्कृतिमा रमाउने प्रचलन बढ्दै जाँदा पछिल्लो समय होलैताको सङ्ख्या त घटेको छ नै यो संस्कृति पुस्तान्तरण हुन् पनि सकेको छैन । यो संस्कृतिलाई अगाडि बढाउन सङ्घसंस्थाले गरेको प्रयास युवा अग्रसर नभए विफल नै रहन्छ । मिथिलामा होली भनेपछि रङ्ग लगाउने मात्र नभई यसको छुट्टै संस्कृति छ भन्ने नयाँ पुस्तालाई बुझाउन जरुरी छ ।  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area