अन्तर्राष्ट्रिय
श्रीमान् अर्बपति र ज्वाइँ प्रधानमन्त्री, तर ३० वर्षदेखि सारी नकिनेकी यी महिला

नयाँ दिल्ली, फागुन १६
भारतमा अर्बपति व्यापारी र उद्योगीहरूको कुनै कमी छैन । अधिकांश धनाढ्यहरू शानदार र खर्चालु जीवनयापनका लागि चिनिन्छन् । उनीहरूको घर अनि कारको मूल्य र दैनिक खर्च सुन्दा सर्वसाधारणको टाउको घुम्छ । अर्बौँ र खर्बौँमा खेल्ने यी धनाढ्य आफ्नो रहनसहनमा हरेक महिना लाखौँ खर्च गर्छन् । तर, केही अरबपतिहरू यस्ता पनि छन् जो ग्ल्यामरस जीवनको चमकधमकबाट कोसौँ दूर छन् । तर एक जना यस्ता अर्बपति श्रीमान्–श्रीमती छन् जो देशका अग्रणी उद्योगपति भएर पनि पत्याइ नसक्नुको सादा जीवन बिताउँछन् ।
यस जोडीको सम्पत्ति ३ खर्ब ६६ अर्ब ९० करोड भारु छ । तर यिनीहरू सादा जीवनयापन गर्न मन पराउँछन् । यी अर्बपति उद्योगपतिले विगत ३० वर्षमा आफ्नी श्रीमतीका लागि एक थान साडी पनि किनिदिएका छैनन् । यी धनाढ्यको श्रीमती पनि झन्डै ७ अर्ब ७५ करोड भारु सम्पत्तिको मालिक्नी हुन् । यिनी जहाँ जहिले पनि सामान्य खालको साडीमा देखिन्छिन् ।
यी अर्बपति जोडी आईटी कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्ति र उनकी पत्नी सुधा मूर्ति हुन् । डीएनएमा छापिएको खबरका अनुसार सुधा मूर्तिले तीन दशकमा एउटै नयाँ साडी किनेकी छैनन् । अर्बौँको सम्पत्ति भएकी महिलाबारे यो कुरा सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । यसको पछाडि आध्यात्मिक विश्वास रहेको तर्क सुधा मूर्तिको छ । काशी भ्रमणको क्रममा सुधाले आफूलाई धेरै प्यारो कुरा त्याग्ने निर्णय गरेकी थिइन् । सुधालाई सबैभन्दा धेरै सारी मन पर्थ्यो । त्यसपछि उनले जिन्दगीमा कहिले नयाँ साडी किनिनन् ।
अधिकांश साडी उपहार
सुधा मूर्तिको पति नारायण मूर्ति सादा जीवन बिताउने अर्बपति भनेर चर्चित छन् । अमेरिकी आर्थिक पत्रिका फोर्ब्सको अनुसार नारायण मूर्तिको कुल सम्पत्ति ४ अर्ब ४० करोड डलर ९करीब ३ खर्ब ६६ अर्ब ९० करोड भारतीय रुपयाँ० रहेको अनुमान छ । सुधा मूर्ति विशेषतः बहिनी, नजिकका साथीभाइ र गैरसरकारी संस्थाहरूबाट उपहारमा पाएका साडीहरू लगाउँछिन् । सुधाकी छोरी अक्षता बेलायतकी प्रधानमन्त्री ऋषि सुनककी पत्नी हुन् । एजेन्सी























