समाचार

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

०
Banner

काठमाडौँ, फागुन १५-

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीत–सङ्गीतको धरोहर वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा उहाँप्रति श्रद्धाञ्जलि अर्पणपछि मन्त्री किरातीले भन्नुभयो, “आफ्नो जिन्दगीमा हजारौँ पराजय ब्यहोरेर पनि इतिहासले नबिर्सिने व्यक्तिका रुपमा विजय हासिल गर्नुभएको छ, हामी कहिल्यै उहाँको योगदान भुल्ने छैनौँ ।”

मन्त्री किरातीले स्व आचार्यले जीवन्त गीत गाएर छाड्नुभएको भन्दै उहाँ बाँच्नेहरुका निम्ति आदर्श व्यक्तिका रुपमा रहने बताउनुभयो । उहाँले आचार्यका नाममा नेपाल सरकारले केही काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले भन्नुभयो, “उहाँ र उहाँको लोकप्रिय गीत–सङ्गीतलाई हामी कहिल्यै बिर्सने छैनौँ । उहाँको सच्चा श्रद्धाञ्जलिका निमित्त हामीले धेरै काम गर्नुपर्ने छ । नेपाल सरकार उहाँको योजना र उहाँले देखेको सपना पूरा गर्न सदैव साथमै छ ।”

आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन दशकअघि नै उहाँको गला अवरुद्ध भएको स्मरण गर्दै गाउने मान्छे गाउन नै नपाएपछि कति ठूलो पीडा भयो होला भनेर कल्पना पनि गर्न नसकिने बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले स्व आचार्यको निधनले नेपाली गीत–सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । श्रद्धाञ्जलि अर्पणपछि अहिले उहाँको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ ।

भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ । आचार्यले करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>