पत्रपत्रिका
महामन्त्रीका प्रतिवेदन केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने देउवाको दाउ

काठमाडौं, फागुन १४-
कांग्रेस महासमिति बैठकबाट सर्वसम्मत रूपमा पास भएको पाँचवटा प्रतिवेदनलाई केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने तयारीमा सभापति शेरबहादुर देउवा देखिएका छन् ।
आसन्न चुनावअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रुख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको प्रतिवेदन पारित भएसँगै तनावमा देखिएका देउवाले सो विषयलाई संशोधन गर्न खोजेका छन् । उनले महासमिति बैठकको समापनमा पनि सो विषय उठाएका थिए ।
महामन्त्री थापाले पेस गरेको गठबन्धन नगर्ने विषयले टाउको दुखाइ भएपछि उनले महासमिति बैठकको सुरुवातमा गगनलाई व्यंग्य गरेका थिए । गठबन्धनको विषयमा अहिले नै प्रमुख मुद्दा बनाउन नहुनेमा कतिपय महासमिति सदस्य देखिए पनि संस्थापनइतर समूहका महासमिति सदस्यहरू भविष्यमा कांग्रेसले गठबन्धन गरेर चुनाव लड्न नहुनेमा रहेका थिए । सो विषय महासमिति बैठकमा जोडतोडका साथ तीन दिनसम्म ललितपुरको गोदावरीमा उठ्यो ।
चुनावी गठबन्धनको विषयमा महामन्त्री थापाले प्रस्तावमा भनेका छन्, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’ यो समाचार राजधानी दैनिकमा छ ।























