धार्मिक/सांस्कृतिक

मूर्ति सेलाउने विषयमा झडप भएपछि रौतहटको ईशनाथमा कर्फ्यु

Banner

रौतहट, फागुन ६-

रौतहटको ईशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । हिजो बेलुका ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएको थियो ।

झडपमा केही स्थानीय घाइते भएका छन् । दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रवार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए ।

हिजो स्थानीय प्रशासनको रोहवरमा दुवै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो । सरस्वतीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृङ्खल व्यक्तिहरुले ढुङ्गामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यस गाउँमा पछिल्लो ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>