राजनीति
माओवादीसँगको गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्छः सांसद सुनिल शर्मा

काठमाडौं, फागुन ५-
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् ।
भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन, बेरोजगारी समस्या समाधान र औद्योगिक क्षेत्रको विकास लगायत विषयमा विस्तृत प्रस्ताव पेश गर्ने योजना बनाएका सांसद शर्माले अप्राकृतिक गठबन्धनको अन्त्य र कांग्रेसको नेतृत्वमा जनमुखी सरकार निर्माणको विषयलाई प्राथमिकताका साथ समावेश गरेका छन् । माओवादी केन्द्रसँगको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिदै सांसद शर्माले यो गठबन्धन तोडेर कांग्रेसको नेतृत्वमा जनमुखी सरकार बनाउनुपर्ने धारणा राखे ।
कुनै कार्यक्रम नै नमिल्ने पार्टीहरूसँगको गठबन्धनबाट बनेको सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको र माओवादीको असक्षमताको भारी कांग्रेसले बोक्नु परिरहेको सांसद शर्माको ठहर छ । अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेकाको दाबी गर्दै उनले यसको विकल्प खोज्नुपर्नेमा जोड दिएका हुन् ।

























