समाचार

विपि प्रतिष्ठानका विद्यार्थीहरु रिले अनसनमा, उपचार प्रभावित

०
Banner

धरान, माघ २१-
कोशी प्रदेशको मात्र नभएर मधेश प्रदेशको केही जिल्लाको समेत रेफरल सेन्टर रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तीन साता यता अस्तव्यस्त छ।

गत पुस २९ गतेदेखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रुपमा भद्र अवज्ञा आन्दोलन जारी राख्दा पठनपाठन र परीक्षा लगायतका शैक्षिक गतिविधिहरु पूर्णरुपमा ठप्प छ भने ओपिडी उपचार सेवा पनि पूर्ण क्षमतामा चलेको छैन।

इमर्जेन्सीबाहेकका नियमित शल्यक्रियाहरु पनि बन्द छ। आन्दोलनमा नभएका प्राध्यापकहरु पनि ओपिडीमा बस्दैनन्। जुनियर रेसिडेन्टहरुको भरमा चलेको ओपिडीमा बिरामीको संख्या पनि न्यून छ।

बढुवाको माग गर्दै एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसर भने आन्दोलनमा हुँदा उपचार सेवा र पठनपाठन प्रभावित भएको हो। आन्दोलनरत शिक्षक, कर्मचारीहरु प्रत्येक दिन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म उपकुलपति कार्यालयअघि धर्नामा बस्ने गरेका छन्।

तीन सातादेखि पठनपाठन ठप्प हुँदा विद्यार्थीहरु तनावमा छन्। समयमा पढाई नसकिने र आर्थिक व्ययभार पनि हुने भन्दै विद्यार्थी कल्याण समाजको अगुवाइमा विद्यार्थीहरु शुक्रबारदेखि रिले अनसनमा उत्रिएका छन्।

उपकुलपति कार्यालयअघि चौबिसै घण्टा अनसनमा बस्दा राती चिसोले केही विद्यार्थीहरु बिरामी पनि परेका छन्। सुचारु गर्न माग गर्दै विद्यार्थीहरु पनि शुक्रबारदेखि रिले अनसनमा उत्रिएका छन्।

‘हाम्रो पठनपाठन ठप्प भएको आजसम्म २२ दिनभयो, भविष्य बनाउन भनेर पढ्न आएका थियौं, अन्योलमा फसियो,’ विद्यार्थी कल्याण समाजका अध्यक्ष डा।ओम शान्ति रजकले भने, ‘हाम्रो त शैक्षिक सत्र नै डामाडोल हुने भयो।’

यसअघि पनि भदौ १३ देखि २४ सम्म र असोज २२ देखि कार्तिक २० सम्म शिक्षक, कर्मचारीहरुले बढुवाको माग राख्दै गरेको आन्दोलनले पनि शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थीहरु मारमा परेका थिए।

विद्यार्थीहरूले पठनपाठन सुचारु गर्न माग गरेजस्तै आम सर्वसाधारणहरुले पनि उपचार सेवा पूर्णरुपमा सञ्चालन गर्न माग गर्दै आएका छन्।

माघ १४ गते वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविर्ण) को अगुवाइमा चाँडो समस्याको समाधान गरेर उपचार सेवा सुचारु गर्न माग गर्दै नगरवासीहरुले शान्तिपूर्ण वृहत् र्‍याली पनि निकालेका थिए। यद्यपि, प्रतिष्ठानले समस्याबाट निकास पाउन सकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>