राजनीति
मुलुकको आर्थिक विकासमा नेता ठाकुरको जोड

महोत्तरी, माघ २०-
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता एवं मुख्य कार्यभार भएको बताउनुभएको छ ।
महोत्तरीको मटिहानी–१ धिरापुरमा लोसपा नेपाल मटिहानी नगरसमितिले आज आयोजना गरेको ‘जनताकाबीच जनप्रतिनिधि’ कार्यक्रममा उहाँले समृद्धि अभियानमा सबै दलले समान दायित्वबोध लिनुपर्ने उल्लेख गर्नुभयो । “एकले अर्कोतिर औँला ठड्याउने होइन, समृद्धिका लागि हातेमालो गर्नुपर्छ”, महोत्तरी क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरले भन्नुभयो, “मुलुकको आर्थिक समृद्धि बेगर हाम्रो सुखद यात्रा अघि बढ्न सक्दैन ।”
नेता ठाकुरले फरक प्रसङ्गमा सङ्घीयतासहितको गणतन्त्रात्मक संसदीय व्यवस्था संसारकै उच्चतम लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गर्नुभयो । अहिले तत्काल केन्द्रीय सरकार फेरबदलको सम्भावना आफूले नदेखेको बताउनुभयो । मधेस प्रदेशसभा सदस्य तथा लोसपा नेत्री रानी शर्मा तिवारी र मटिहानीका नगरप्रमुख तथा लोसपाका महामन्त्री हरिप्रसाद मण्डलले वर्तमान राजनीतिक परिस्थितिबीच आफ्नो दल जिम्मेवारीबोधका साथ अघि बढेको बताउनुभयो । रासस

























