समाज

चितवन घेदुङले भोलि २८६०औं सोनाम ल्होछार मनाउँदै

०
Banner

चितवन, माघ १७-

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले मञ्जुश्री सम्वत् २८६०औं सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा विशेष सम्मान कार्यक्रम गर्ने भएको छ ।

घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङका अनुसार भोलि हुने उक्त कार्यक्रममा घेदुङका पूर्वअध्यक्ष, तामाङ समुदायका चिकित्सक, पत्रकार, वकिल लगायतलाई सम्मान गरिने छ । उनले घेदुङलाई विभिन्न समयमा महत्वपूर्ण योगदान दिएका संघसंस्था र अन्य व्यक्तिलाई समेत सम्मान गरिने बताए ।

जिल्ला घेदुङले उक्त कार्यक्रममा सम्पूर्ण तामाङ समुदायलाई सहभागिताका लागि आह्वान समेत गरेको छ । सबैको साथ सहयोग अपेक्षा राख्दै आ–आफ्नो स्थानबाट सक्दो सहयोगको लागि अध्यक्ष तामाङले आग्रह गरे। कार्यक्रम जिल्ला समन्वय समिति चितवनको हलमा हुने आयोजकले जनाएको छ ।

प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव–२०८०

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवन र नेपाल तामाङ घेदुङ राप्ती नगर इकाई कमिटीको संरक्षकत्वमा ल्होछारकै अवसर पारेर चितवनको राप्तीमा प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव–२०८० हुन गइरहेको जिल्ला अध्यक्ष तामाङले जानकारी दिए ।

श्री च्योमदेन दे ढा च्योम बौद्ध गुम्बा आयोजक रहेको उक्त साँस्कृतिक उत्सव माघ २४ गतेदेखि ७ गतेसम्म संचालन हुनेछ । राप्ती ९, वन ग्रुप क्याम्पामा हुन गइरहेको उक्त उत्सव चार दिनसम्म चल्नेछ । नेपाल तामाङ घेदुङ केन्द्रीय सर्कुलर अनुसार यो पटक सोनाम ल्होछारलाई गाउँ केन्द्रित गरिएको उनको भनाइ छ । उनले चितवन जिल्लामै पहिलो पटक हुन गइरहेको साँस्कृतिक उत्सवले तामाङ जातिको पहिचानका लागि थप बल पुग्ने बताए ।

यसअघि जिल्ला घेदुङले माघ २२ गते नारायणी नदी किनारमा सोनाम ल्होछार मनाउने घोषणा गरेको थियो । चितवनका विभिन्न गुम्बा तथा तामाङ सम्बद्ध विभिन्न संघसंगठनहरुले भने माघ २७ गते नै सोनाम ल्होछार मनाउने तयारी तिब्र पारेको छ ।

यसैबीच नेपाल तामाङ घेदुङ संघीय सचिव गोमनसिंह तामाङले जिल्लाबाट हुने हरेक गतिविधिमा केन्द्रको पूर्ण सहयोग रहने बताएका छन् । संघीय सचिव तामाङले सोनाम ल्होछार मनाउँदा आर्थिक व्ययभार कम गरी तामाङ सेलो र आफ्नो संस्कृतिमा जोड दिन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>