पत्रपत्रिका

दरबार हत्याकाण्ड: के दाहाल–ओली पुनः अनुसन्धान चाहन्छन् ?

०
Banner

काठमाडौं, माघ १७-

राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन्।

पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे राजनीतिक झेल गरी भ्रम फैलाएको बताएपछि ओली–दाहालले एकसाथ पुनः छानबिन गर्ने अभिव्यक्ति दिएका हुन्।

एमाले अध्यक्ष ओलीले तेजाबपीडित मुस्कान खातुनको कथामा आधारित चलचित्र ‘नमेटिने घाउ’को शुभमुहूर्तमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको बताउँदै तत्कालीन छानबिन समितिमाथि प्रश्न उठाएका थिए।

उनले हत्याको प्लट पहिला नै तयार पारिएको बताएका थिए। पूर्वराजा ज्ञानेन्द्र यस वर्ष एकपछि अर्को गरी सार्वजनिक कार्यक्रममा हिँड्ने र व्यवस्थामाथि नै प्रश्न उठाउने, राजा आऊ देश बचाऊ भन्ने एउटा जमातलाई थप उत्तेजित पर्ने गरी अभिव्यक्ति दिन थालेपछि ओलीले बेलाबखत ‘काउन्टर’ दिँदै आएका छन्।

पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक रूपमै राजनीतिक जालझेल भएको बताएका थिए। ‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो। हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए,’ दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रले वीरगन्जको कार्यक्रममा भनेका थिए।

त्यही क्रममा एमाले अध्यक्ष ओलीले २०४६ सालको जनआन्दोलनपछि संवैधानिक राजतन्त्र कायम रहेकोमा २०५८ सालमा जघन्य र अकल्पनीय दरबार हत्याकाण्ड भएको बताएका थिए।

सबैभन्दा धेरै सुरक्षा घेरामा रहेको राजाको वंशविनाश हुनु आधुनिक समयको भयानक षड्यन्त्र भएको बताउँदै उनले दरबार हत्याकाण्डको प्लट पहिल्यैदेखि तयार पारेर राखिएको र सुटिङ हुनेबित्तिकै रिलिज भएको दाबी गरेका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>