समाचार

संविधान सभा सदस्य इच्छाराज तामाङ ठगि मुद्दामा दोषी ठहर

०
Banner

काठमाडौं , माघ ७
सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि २१ माघमा अर्को इजलास तोकिएको छ ।

१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो । उनीहरुमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका प्रवक्ता कार्कीले बताए ।

सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको आरोपमा सिभिल सहकारीका तत्कालिन अध्यक्ष, उनकी पत्नी, छोरीहरु र नातेदार विरुद्ध मुद्दा दायर गरेको थियो ।

१६ भदौ २०७९ मा दायर भएको मुद्दामा सिभिल होम्सका अध्यक्ष समेत रहेका इच्छाराज तामाङ विरुद्ध ३ अर्ब ३१ करोड विगो सहित उनको नाममा रहेको जग्गा र अरु सम्पत्ति जफत हुनुपर्ने मागदाबी गरेको थियो ।

विभागले इच्छाराजकी पत्नी सिर्जना शाक्य तामाङसँग एक अर्ब ३० करोड विगो मागदाबी गरेको छ । मुद्दा दायर हुने बेलामा भने उनले पतिसँग सम्बन्धविच्छेद गरेकी थिइन् । विभागले सृजनासँग भएको सवारीसाधन र जग्गा जफत हुनुपर्ने मागदाबी पनि गरेको थियो ।

इच्छाराजले आफूले गैरकानुनी रुपमा कमाएको सम्पत्ति छोरीहरु प्रतीक्षा र प्रतिष्ठाको नाममा लुकाएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको दाबी थियो ।

त्यसैले छोरी प्रतीक्षाको नाममा रहेको ६ करोड ४७ लाख रुपैयाँ, घरजग्गा र शेयर समेत जफत हुनुपर्ने माग गरेको थियो । अर्की छोरी प्रतिष्ठाको नाममा रहेको एक अर्ब ८९ करोड रुपैयाँ, घरजग्गा र शेयर जफत हुनुपर्ने मागदाबी पनि विभागले गरेको थियो ।

सिभिल सहकारीका अध्यक्ष तामाङले आफू २०७० सालको संविधानसभामा नेकपा एमालेको तर्फबाट सदस्य चयन भएपछि सहकारीको जिम्मा मामाससुरा केशवलाल श्रेष्ठलाई लगाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>