कृषि
चितवनका दुग्ध किसानद्वारा आन्दोलनको घोषणा, किसानको प्रदर्शनदेखि मन्त्रीको पुत्ला दहनसम्म

चितवन, पुस २५-
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले पुस २९ गतेबाट माघ २ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रमको घोषणा गरेको छ ।
आज पत्रकार सम्मेलन गरेर किसानको अनुदान भुक्तानी र बजारीकरण हुन नसकेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
संघले पुस २८ गतेसम्म माग पूरा नगरेमा पुस २९ गते दुग्ध किसानले प्रदर्शन गर्ने, माघ १ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनमा ताल्चा लगाउने र माघ २ गते कृषि तथा पशुपन्छी मन्त्रीको पुत्ला दहन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
संघका अध्यक्ष किशोर बगाले र सचिव कल्याण अधिकारीले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति बितरण गर्दै चितवनका दुग्ध किसानले मुख्यतया पाँचवटा समस्याहरु भोग्दै आएको उल्लेख गरेका छन् । संघका अनुसार दूधको बजारीकरण सहजरुपमा नहुनु, दूधको भुक्तानी समयमै हुनुपर्ने, किसानले सहुलियत ऋण सुलभ तरिकाले प्राप्त गर्ने, बिमामा देखिएको सहजीकरण र बागमती प्रदेश सरकारबाट दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दूग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्नेलगायत छन् । यी समस्याहरु समाधान हुन नसक्दा दुग्ध किसान पलायन हुने अवस्था आएको पत्रकार सम्मेलनमा किसानहरुले जनाएका छन् ।
























