चितवन विशेष
चितवनमा चिसो बढ्यो, न्यूनतम तापक्रम ९ डिग्री मापन

चितवन, पुस १४–
चितवनमा चिसो बढेको छ ।
बिहानदेखि घाम लाग्न नसकी हुस्सु लाग्दा चिसो बढेको हो ।
भरतपुर विमानस्थलले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार आज बिहान जिल्लाको तापक्रम १२ डिग्री सेल्सियस मापन भएको थियो भने आज दिउँसोको तापक्रम १८ डिग्री रहेको छ । त्यस्तै पुस ७ गते जिल्लाको तापक्रम ११ डिग्री रहँदा ५ गते जिल्लाको तापक्रम ९ डिग्री रहेको भरतपुर विमानस्थलले जानकारी दियो । ९ डिग्री अहिलेसम्मको कम तापक्रम हो ।
जाडोसँगै बाक्लो हुस्सु लागेपछि जिल्लाको जनजीवन प्रभावित भएको र चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशेष समस्या भएको भरतपुर अस्पतालका पूर्वअध्यक्ष तथा वरिष्ठ फिजिसिएन डा. भोजराज अधिकारीले जानकारी दिए । उनका अनुसार क्रमिक रुपमा चिसो बढ्दा पुराना मुटु रोग तथा दमका बिरामी अस्पताल आउने संख्या बढेको छ भने बहिरंग विभागमा पनि पहिलोको तुलनामा धेरै रुगा खोकीका बिरामी उपचारका लागि आउने गरेको उनले बताए । पछिल्लो समय चिसो मौसमसँगै जिल्लाको वातावरण प्रदूषित हुँदा सास फेर्न समस्या हुने गरेको बताउँदै उनले भने, ‘चिसोबाट बच्न तातो, झोलिलो खानेकुरा खानुका साथै छाती नखोलेको लुगा लगाउनु पर्छ भने बिहानको मर्निङ वाक निस्कनु हुँदैन । ’
देशभरको मौसम
अहिले देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपु देखि हल्का वर्षाको भइरहेको छ । यस्तै हुम्ला र मुस्ताङमा आज बिहानैदेखि हिमपात सुरु भएको छ । मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको हो । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
























