खेलकुद

किरात गोल्डकपको उपाधिका लागि झापा र मोरङ भिड्दै

Banner

पाँचथर, मंसिर २३-

फिदिममा जारी प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विर्तामोड युनाइटेड फुटबल क्लब झापा र डाँगीहाट फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।

फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा आज उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । उपाधिका लागि सशक्त दाबेदार मानिएका दुवै टोली नयाँ मैदानको अनुभवसहित उपाधि यात्राका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । झापा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई पराजीत गर्दै तथा मोरङ आयोजक पाँचथर फुटबल क्लबलाई पराजीत गर्दै फाइनलमा पुगेका हुन् ।

विर्तामोडसँग योगेश गुरुङ, रोमन भुजेल, प्रदीप बुढाथोकी, श्याम मुर्मु, सुमन मगर, विशाल दर्जीजस्ता अनुभवी र तेज खेलाडी छन् । यता मोरङबाट मानबहादुर परियार, अरुण लिम्बू, योगेश कार्की, योगेश राई, सञ्जय धिमाल, सोन याक्खा, अभिशेक लिम्बूजस्ता परिपक्व खेलाडी मैदानमा उत्रँदैछन् । दुवै टोलीका खेलाडी विगतदेखि नै फिदिमको मैदान र दर्शकसँग परिचित भएकाले दुवैलाई फाइनल उति कठिन छैन ।

यही मङ्सिर १६ गतेदेखि सुरु भएको प्रतियोगिताको आज फाइनल खेल हुन लागेको हो । प्रतियोगितामा भारत दार्जिलिङको एक, काठमाडौँको एक र कोशी प्रदेशका छ वटा गरी आठ फुटबल टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले रु चार लाख चार हजार चार सय ४४ रकम तथा उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ रकम प्राप्त गर्नेछन् । यस्तै विधागतरुपमा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई समेत पुरस्कृत गर्न लागिएको आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>