नवलपरासी
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै

नवलपरासी, असोज २८–
नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ ।
अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्संकल्पमा उक्त महायज्ञ आयोजना हुन लागेको हो । महायज्ञ मार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण र प्रवद्र्धनसँगै वैश्वीकरणका निम्ती श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई क्रमशः विशिष्ट महाविद्यालयका रूपमा विकास गर्दै वैदिक ज्ञान, संस्कृत शिक्षा, धर्मदर्शन तथा आध्यात्मिक विषयको अध्ययन अनुसन्धान विस्तार गर्न नमुना वैदिक विश्वविद्यालय स्थापनाको दिर्घकालीन लक्ष्यलाई अघि बढाउने उद्देश्य रहेको महायज्ञ प्रचारप्रसार समितीका संयोजक अच्युतकृष्ण शरणले जानकारी दिए ।
विशाल धनधान्याचल र शास्त्रीय अनुष्ठान मुख्य आकर्षण
महायज्ञको विशेष आकर्षणका रूपमा विशाल धनधान्याचल तथा अष्टाचल स्थापना गरिनेछ । धार्मिक विधिअनुसार निर्माण गरिने धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना रहेको आयोजकले जनाएको छ । धनधान्याचललाई नेपालका मेचि महाकालीसम्मका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराई अन्त्यमा महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिनेछ । अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना, मासलगायतका अन्न अर्पण गर्न सकिने व्यवस्था मिलाइनेछ । श्रद्धालु भक्तजनले आफ्नो घरमा उपलब्ध अन्न श्रद्धापूर्वक अर्पण गरी महायज्ञमा सहभागी हुन सक्नेछन् । हायज्ञका अवसरमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्र लगायतका शास्त्रहरूको पाठपारायण गरिने कार्यक्रम रहेको छ ।
त्यसैगरी श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्र् पारायण तथा वैदिक वाङ्मय र गोवंश संरक्षण एवं श्रीसमृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन आराधना गरिनेछ ।
धर्माचार्यको प्रवचनदेखि योग, ध्यान र पाँच करोड दीप प्रज्ज्वलनसम्म
महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान् तथा विदुषीहरूबाट शास्त्रीय प्रवचन प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय धार्मिक कलाकारहरूबाट भजन कीर्तन, देवलीला, झाँकी तथा चेतनामूलक नाटक पनि प्रदर्शन गरिनेछ ।
त्यसैगरी सयौँ गौमाताको सामूहिक पूजन, सामूहिक श्रीशालिग्राम तथा गण्डकी पूजन, एक हजार ८ कन्या र बटुक पूजन तथा दैनिक योग एवं ध्यान शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । महायज्ञअन्तर्गत पाँच करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्यसमेत राखिएको छ ।























