खेलकुद
ओमान नेपालसंग पराजित, ११३ रनले विजयी

काठमाडौं, असोज २७-
रोहित पौडेलको अर्धशतक, करण केसीको विष्फोटक ब्याटिङ तथा नन्दन यादव र सन्दीप लामिछानेको उत्कृष्ट बलिङप्रेरित नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा ओमानमाथि ११३ रनको फराकिलो जित दर्ता गरेको छ। अल अमिरात क्रिकेट मैदानमा जितका लागि पाएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो।
ओमानका लागि ओपनर विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा घरेलु टोली पराजित हुन पुग्यो। ८३ बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे।
यस्तै जय ओडेद्राले २५ र जतिन्दर सिंहले १८ रन जोडे। ओमानका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओमानलाई सस्तैमा समेट्न नेपालका बलरहरू हाबी भए। बलिङतर्फ नन्दन यादवले ६ ओभरमा १ मेडनसहित मात्र १२ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।
सन्दीप लामिछानेले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले समान १(१ विकेट लिए। किफायती बलिङ गरेका करणले ६ ओभरमा २ मेडनसहित जम्मा ८ रन दिएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रनको बलियो योगफल तयार पारेको थियो।
नेपालको इनिङ्समा रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। तल्लो क्रममा आएका करण केसीले विष्फोटक ब्याटिङ गर्दै नेपालको इनिङ्स उकासेका थिए। उनले मात्र १६ बलमा १ चौका र ४ छक्काको मद्दतले ४० रनको अविश्वसनीय इनिङ्स खेले।
यस्तै ओपनर अर्जुन कुमालले ४०, इशान पाण्डेले ३७, बसिर अहमदले ३७ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए। ओमानका लागि बलिङतर्फ शाह फैसल, सकिल अहमद र करण सोनावलेले समान २/२ विकेट लिए भने हसनैन शाहको नाममा १ विकेट रह्यो।























