चितवन विशेष

नागरिकले सहकारीबारे धेरै गुनासो गर्न थालेपछि भरतपुर महानगरको निरन्तर अनुगमन

Banner

चितवन, मंसिर १४-

प्रभावकारी नियमन नहुँदा भरतपुरका सहकारीमा अनियमितता बढ्न थालेको भन्दै भरतपुर महानगरपालिकाले सहकारीहरूको अनुगमनलाई निरन्तरता दिएको छ ।

बुधबारबाट भरतपुरको वडा २८ र २७ बाट सुरु गरेको अनुगमनलाई आज पनि निरन्तरता दिएको हो ।

महानगरका अधिकांश सहकारी संस्थाहरूले नियमि विपरित लेखापरीक्षण सही ढंगले नगर्ने, फजुल खर्च गर्ने, आफन्तलाई अत्यधिक ऋण दिने, ऋण उठाउन नसक्ने, बैँकको ऋण नतिरेर कालोसूचीमा परेकाहरु सहकारीमा लगानी गर्ने जस्ता कार्य गरेको पाइएपछि अनुगमन थालिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आज वडा न २७ का विभिन्न सहकारीहरुमा स्थलगत अनुगमन गरेको छ । पर्साढाप बचत तथा ऋण सहकारी सस्था,महेन्द्रेश्वर बहुमुखी सहकारी सस्था, शिवालय महिला बचत तथा ऋण सहकारी सस्था र जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरिएको छ ।

‘नियमन प्रभावकारी नहुँदा महानगरका अधिकाश सहकारीमा समस्या देखिन थालेको महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख उपेन्द्र पौड्यालले बताए । उनले भने, ‘यो अवस्था दिन प्रति दिन बढ्दै गयो भने यसले बिकराल अवस्था ल्याउने छ ।’

अधिकांश सहकारीहरु आफ्नो विनियममा नभएका पदहरू सृजना गरी चुनाव गराउँदै आएको, विनियममा नभए पनि ऋण लगानी गर्दा सेवाशुल्क, प्रवेश शुल्क लिने गरेको, बचतको ब्याज नदिएको तर ऋणबाट चर्को ब्याज लिने गरेको, एउटा सहकारी संस्थामा सञ्चालक रहेकाहरू अर्काे सहकारीमा पनि सञ्चालक समितिमा रहेको लगायतका गुनासोहरु आएपछि अनुगमनलाइ तीव्र पारिएको सहकारी तथा रोजगार पवद्र्धन शाखाका शाखा प्रमुख रोजी केसिले जानकारी दिइन् । उनले भनिन्, ‘अनुगमनमा सहकारीको सुशासन, लेखापरीक्षण,जगेडा कोष, ऋण लगानीको अवस्था लगायत अन्य पक्षहरुको पनि मूल्याङ्कन गरिने छ ।’

अनुगमनपछि अनुगमनको प्रतिवेदन तयार पारी सम्बन्धित सहकारीलाई सुधारका लागि आग्रह गरिने महानगरले जनाएको छ । केही सहकारीले नमुना काम गर्दै गए पनि धेरै सहकारी संस्थाहरुले सुधार गर्दै लैजानुपर्ने निष्कर्ष अनुगमन टोलीले निकालेको छ । अहिले भरतपुर महानगरपालिकामा ३६३ वटा सहकारी सस्थाहरु सञ्चालनमा रहेका छन् । अनुगमनमा लेखापाल फडिन्द्र खनाल, शाखाका समन्वयकर्ता सुकदेव ढकाललगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>