कावासोती

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

Banner

नवलपुर, मङ्सिर १३-
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा गर्भवतीलाई लक्षित गरी सञ्चालन गरिएको ‘आमा घर’ प्रभावकारी बन्दै गएको छ । गैँडाकोट नगरपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने वडा नं ३ र १८ का सुत्केरीलाई लक्षित गर्दै आमाघर सञ्चालनमा ल्याइएको हो ।

पहाडी क्षेत्रका महिला घरमै सुत्केरी हुने गरेका भन्दै गैँडाकोट नगरपालिकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रेरित गर्ने उद्देश्यले गैँडाकोट नगर अस्पतालमा आमाघर सञ्चालनमा ल्याएको हो । घरमा हुने सुत्केरीको सङ्ख्या शून्यमा ल्याउने र सुत्केरी अवस्थामा आउन सक्ने जटिलता घटाउने उद्देश्यले पहाडी क्षेत्रमा बसोबास गर्ने गर्भवतीलाई गैँडाकोट नगर अस्पतालमा आमाघर कार्यक्रम सञ्चालन गरिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले राससलाई बताउनुभयो । आमाघर कार्यक्रमलाई नगरपालिकाको नवीनतम् प्रयासका रूपमा लिइएको उहाँको भनाइ छ ।

नगरपालिकाले नगर अस्पतालमा सञ्चालन गरेको आमाघरबाट लक्षित वडाका गर्भवती र उनका कुरुवालाई दुई हप्तासम्म सम्पूर्ण हेरचाह गरिने गैँडाकोट नगर अस्पताल प्रमुख जनस्वास्थ्य निरीक्षक पुष्पराज श्रेष्ठले बताउनुभयो । “दुई वडाका गर्भवती र उनका कुरुवालाई सुत्केरी हुने मितिले सात दिनअघिदेखि सात दिन पछाडिसम्म खाने र बस्ने सबै सुविधा यहीँ उपलब्ध हुन्छ, त्यसका लागि नगरपालिकाले प्रतिदिन रु आठ सय उपलब्ध गराउँछ”, उहाँले भन्नुभयो ।

“यहाँ राखेको बेलामा जटिल समस्या देखियो भने तत्काल हामीले उपचार गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “यहाँबाट समाधान भएन भने पनि भरतपुर सिफारिस गरेर सुत्केरी र नवजात शिशुको ज्यान बचाउन सकिन्छ । गत आर्थिक वर्षबाट सुरु भएको आमाघर कार्यक्रमबाट हालसम्म गैँडाकोटको वडा नं ३ र १८ का ४१ जना लाभान्वित भइसकेका श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आव २०७९र८० मा २९ जना र चालु आवमा १२ जनाले आमाघरबाट सेवा लिएका छन् ।

गैँडाकोट नगरपालिकाभित्र भौगोलिकरूपमा विकट क्षेत्र वडा नं ३ र १८ मा बसोबास गर्ने गर्भवतीलाई लक्षित गरी नगर स्वास्थ्य शाखाले ग्रामीण भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो । त्यस्तै नगर स्वास्थ्य शाखामार्फत ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरभित्रका प्रतिसुत्केरी रु पाँच हजारका दरले रकम उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>